विश्वमै पहिलो पटक ५७ वर्षीय अमेरिकी नागरिकमा सुँगुरको मुटु प्रत्यारोपण

न्भेष्टोपेपर । पुष २७, २०७८

मेरिल्याण्ड मेडिकल सेन्टरका चिकित्सकहरू विश्वमा पहिलाे पटक आनुवंशिक रूपमा परिवर्तन गरिएको सुँगुरको मुटु मानव शरीरमा प्रत्यारोपण गर्न सफल भएका छन्। यस्ताे अपरेशन गराउने व्यक्ति अमेरिकी नागरिक ५७ वर्षीय डेभिड बेनेट हुन ।

चिकित्सकहरूका अनुसार बाल्टिमोरमा गरिएको सात घण्टा लामो प्रयोगात्मक प्रक्रियाको तीन दिनपछि डेभिड बेनेटको शरीरले राम्रो प्रतिक्रिया जनाएको छ। यो प्रत्यारोपणलाई बेनेटको जीवन बचाउने अन्तिम आशाको रूपमा लिइएको थियो, यद्यपि उनको लामो समय बाँच्ने सम्भावना कति छ भन्ने अझै स्पष्ट छैन।

युनिभर्सिटी अफ मेरिल्याण्ड मेडिकल सेन्टरका चिकित्सकहरूलाई अमेरिकाको चिकित्सासम्बन्धी नियामक निकायले यो प्रक्रिया गर्न एउटा विशेष खालको छुट दिएको थियो। प्रत्यारोपण गर्ने चिकित्सा टोलीलाई यसले वर्षौको अनुसन्धानको परिणाम दिएको छ र यसले विश्वभरि मानिसको जीवनलाई परिवर्तन गर्नसक्छ।

शल्यचिकित्सक बार्ट्ली पी. ग्रिफिथले यो शल्यक्रियाले विश्वलाई “अङ्ग अभाव सङ्कटको समस्या समाधानका लागि एक कदम नजिक ल्याउने” बताएको युनिभर्सिटी अफ मेरिल्याण्ड स्कूल अफ मेडिसिनको विज्ञप्तिमा उल्लेख छ।

सन् २०२१ को अक्टोबरमा न्यू योर्कस्थित शल्यचिकित्सकहरूले मानव शरीरमा सुँगुरको मिर्गौला सफलतापूर्वक प्रत्यारोपण गरिएको घोषणा गरेका थिए। यद्यपि, त्यसबेला प्रत्यारोपण गरिएका व्यक्तिको मस्तिष्क मृत थियो र निको हुने कुनै आशा थिएन।

अहिले मुटु प्रत्यारोपण गरिएका बेनेट भने आफू बाँचिरहन सक्ने आशा व्यक्त गर्छन्। शल्यक्रियाअघि उनी ६ साता ओछ्यानमै उपकरणजडित भएर बसेका थिए। मुटुमा समस्या देखिएपछि उनलाई जीवित राख्न त्यसो गरिएको थियो।

“निको भएपछि ओछ्यानबाट बाहिरिने अपेक्षामा म छु,” उनले गत बिहीवार भनेका थिए।

— बीबीसीबाट

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *