भाइटीका लाउन अञ्जली दिदीकाे सार्वजनिक निम्ता

इन्भेष्टाेपेपर ।  कार्तिक ६, २०७९

काठमाडौँ ।  आइतबारदेखि यमपञ्चक सुरु हुँदै छ। दिदीबहिनीहरू आफ्ना दाजुभाइलाई निम्ता गर्न व्यस्त छन् तर सबैका दाजुभाइका दिदीबहिनी नहुन सक्छन्। त्यस्ता दाजुभाइकी चेली हुनुहुन्छ– अञ्जली मास्के। 

अञ्जली मास्केले २४ वर्षदेखि भाइटीकामा दिदीबहिनी नहुने दाजुभाइको निधार खाली रहन दिनुभएको छैन। उहाँले यस पटक पनि सामूहिक भाइटीकालाई निरन्तरता दिने हुनुभएको छ। उहाँले यस वर्षको सामूहिक भाइटीकाका लागि सार्वजनिक निम्ता (सूचना जारी) गर्नुभएको छ। 

दिदीबहिनी नभएका, भाइटीकाका लागि घर जान नभ्याएका वा उहाँसँगै टीका लगाउन इच्छुक दाजुभाइका लागि मास्केले २०५५ सालदेखि विधिपूर्वक भाइटीका लगाउँदै आउनुभएको छ। उहाँले हरेक वर्षझैँ यस वर्ष पनि २०८ जना दाजुभाइका लागि माला, सगुन र मिठाइसहित तयारी गरिएको जानकारी दिनुभयो। 

भाइटीकाको दिन उहाँको हातको टीका लगाउन विभिन्न पेसा, व्यवसाय गर्ने सानादेखि पाका उमेरका दाजुभाइ काष्ठमण्डप पुग्ने गर्नुहुन्छ। मास्केले टीकापछि दाजुभाइले दिने उपहार स्वीकार्नुहुन्न। सामूहिक टीका कार्यक्रमका कारण उहाँ नेपालकी दिदीको नामले चर्चित हुनुहुन्छ। 

मास्केले मिलेसम्म काष्ठमण्डपभित्र भाइटीका गर्ने र नमिलेमा पनि त्यसको बाहिर चोकमा पाल टाँगेर टीका लगाउने तयारी भइरहेको बताउनुभयो। उहाँले २०७७ सालमा कोरोना महामारीका कारण दाजुभाइ तथा आफ्नो स्वास्थ्य सुरक्षाका कारण भीडभाड गर्न नहुने कारणले टीका नलगाएको बाँकी अन्य वर्ष घरमै र काष्ठमण्डपको पुनर्निमाण चलिरहेकाले त्यसबाहिर पाल टाँगेर भए पनि टीका लगाएको अनुभव सुनाउनुभयो।

“दिदीलाई सम्झेर आउने दाजुभाइको निधार खाली राख्दिनँ, विधिसहित टीका लगाएर दीर्घायु, प्रगतिको कामना गर्छु” भन्दै उहाँले गोरखापत्रमार्फत सबै दाजुभाइलाई भाइटीका लगाउन आउन आह्वान गर्नुभयो।

अञ्जली मास्केले २०५५ सालमा दिदीबहिनी नभएका वा विभिन्न कारणले तिहार पर्वमा निधार खाली रहेका दाजुभाइलाई टीका लगाई आशीर्वाद आदान–प्रदान गर्ने लक्ष्यले सामूहिक भाइटीका सुरुवात गर्नुभएको हो। पहिलो वर्ष भाइटीकाका लागि १०८ वटा सगुन ठीक पारेकोमा दुई/तीनवटा मात्र बढी भएको उहाँको अनुभव छ। उहाँले भन्नुभयो, “पहिलो वर्ष प्रचार–प्रसार नगर्दा पनि त्यत्तिका सङ्ख्यामा टीका लगाउने दाजुभाइ जम्मा हुनुभयो। त्यसबाट प्रभावित भएर सामूहिक भाइटीका कार्यक्रमलाई निरन्तरता दिने उद्देश्यले उहाँले हरेक वर्ष काष्ठमण्डप परिसरमा टिका लगाउन थालेकी हुँ।”  

सामूहिक भाइटीकाको दोस्रो वर्षदेखि २०८ वटा पूजा र सगुनको सामग्री तयार गरेर काष्ठमण्डपमा टीका लगाउने गर्नुभएको छ भने मास्केको घरमै आएर ‘दिदी टीकाको आशीर्वाद दिनुहोस्’ भन्दै पुग्नेको सङ्ख्या पनि बढिरहेको छ। 

उहाँले भाइटीकाका लागि सगुनका सामग्री पनि जुटाउनु पर्ने हुनाले सकेसम्म उहाँलाई खबर गरेरै आउनुभए राम्रो हुने बताउनुभयो। फलफूल, मिठाइ, अण्डा, माछा बढी भएर खेर जाने भएकोले फोन नम्बरसहित सार्वजनिक स्थलमा सूचना राख्ने गरिएको पनि बताउनुभयो। याे समाचार गाेरखापत्र दैनिकमा प्रकाशित भएकाे छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *