नरभक्षी चितुवा मार्न प्रशासनको आदेश

इन्भेष्टाेपेपर ।  कार्तिक १७, २०७९

तनहुँ ।  निरन्तर रुपमा तनहुँमा आतङ्क मच्चाइरहेको नरभक्षी चितुवा मार्न स्थानीय प्रशासनले आदेश दिएको छ । प्रशासनले बुधबार स्थानीय प्रशासन ऐन २०२८ को दफा ९(४) बमोजिम नरभक्षी चितुवा मार्न सशस्त्र प्रहरी र जनपथ प्रहरीलाई आदेश दिएको हो ।

व्यास नगरपालिका, बन्दिपुर गाउँपालिकाका साथै स्थानीय व्यक्तिहरुले नरभक्षी चितुवाको आक्रमणबाट बालबालिकाको मृत्यु हुन थालेपछि उक्त चितुवा मार्नुपर्ने भनेर प्रतिवेदन उपलब्ध गराएपछि स्थानीय प्रशासनले सो चितुवा मार्न निर्देशन दिएको हो ।

चितुवाले कात्तिक ४ गते बन्दिपुर गाउँपालिका–३ की ११ वर्षीया बालिका, कात्तिक १५ गते व्यास नगरपालिका–१२ छिर्कनेका ८ वर्षीय बालकलाई आक्रमण गर्दा मृत्यु भएको छ । तनहुँको बन्दिपुर गाउँपालिकाको वडा नं. १, ३, ४ र ५ मा तथा व्यास नगरपालिकाको वडा नं. ११ र १२ मा गरी चितुवाको आक्रमणबाट आठ जना घाइते र पाँच जना बालबालिकाको मृत्यु भएको जिल्ला प्रशासन कार्यालयलाई जानकारी गराएको छ ।

लामो समयसम्मको प्रयासबाट समेत चितुवालाई नियन्त्रणमा लिन नसकिएकाले प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालले गोली हान्न आदेश दिनुभयो । मानिस तथा घरेलु पशु चौपायामाथि बारम्बार आक्रमण हुने स्थिति विद्यमान भएकाले उक्त त्रासदीपूर्ण वातावरणको अन्त्य गरी स्थानीय बासिन्दालाई जिउज्यानको सुरक्षाको अनुभूति दिन आवश्यक देखिएको सन्दर्भमा सो हिंस्रक नरभक्षी चितुवालाई मारी मृत चितुवा डिभिजन वन कार्यालय तनहुँमा बुझाइदिनुहुन स्थानीय प्रशासन ऐन २०२८ को दफा ९(४) बमोजिम अनुरोध गरिएको छ ।

जिप्रकाले नरभक्षी चितुवा मार्ने सम्बन्धमा गृह मन्त्रालय, शान्ति सुरक्षा तथा अपराध नियन्त्रण शाखा, डिभिजन वन कार्यालय तनहुँ, सशस्त्र प्रहरी बल नेपाल, गण हे. क्वा. तनहुँ नं. २३ गण मनकामना, व्यास नगरपालिकाको कार्यालय, बन्दिपुर गाउँपालिकालाई आवश्यक सहयोग गर्न बोधार्थ पठाएको छ । 

विगत पाँच वर्षदेखि तनहुँमा वन्यजन्तु चितुवा र मानवबीच द्वन्द्व बढ्दै गएको छ । यो अवधिमा भानु नगरपालिका, आँबुखैरेनी गाउँपालिका, बन्दिपुर गाउँपालिका, व्यास नगरपालिका र शुक्लागण्डकी नगरपालिकामा गरी १४ जना बालबालिका चितुवाको आक्रमण परी ज्यान गुमाएका छन् भने दर्जनभन्दा बढी बालबालिका घाइते भएका छन् । याे समाचार गाेरखापत्र दैनिकमा प्रकाशित भएकाे छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *