हेटौँडा कपडा उद्योग फेरि सञ्चालन गर्ने घोषणा अहिलेसम्म कार्यान्वयन भएन

न्भेष्टाेपेपर ।  चैत १०, २०८१

मकवानपुर । लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योग पुनः सञ्चालन गर्ने तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले संसदमा घोषणा गरेको तीन बित्नै लागेको छ । तर अहिलेसम्म उद्योग सञ्चालनको कुनै तयारी छैन । उद्योग सञ्चालनको घोषणाले हर्षित भए पनि प्रकृया अघि नबढ्दा खिन्न हुनुपरेको मकवानपुरको हेटौँडाका सरोज बिडारी बताउनुहुन्छ ।

आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्ने क्रममा शर्माले २०५६ सालदेखि बन्द हेटौँडा कपडा उद्योग सञ्चालनमा ल्याइने घोषणा गर्नुभएको थियो । मकवानपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष प्रमोदराज रानाभाटका अनुसार जीर्ण भइसकेको कपडा उद्योग सञ्चालन गर्ने कुरा राम्रो भए पनि लगानी धेरै चाहिने बताउनुभयो । हेटौँडा औद्योगिक क्षेत्रको एक सय ६६ रोपनीमा फैलिएको उद्योग सञ्चालनमा रहँदा वार्षिक दुई हजार तीन सय टन धाँगो र तीन सिफ्टमा गरी एक करोड १० लाख मिटर कपडा उत्पादन हुने गरेको थियो ।

चीन सरकारको आर्थिक तथा प्राविधक सहयोगमा २०३२ साल साउनमा स्थापना भएको उद्योग व्यवस्थापकीय कमजोरी, नियमित विद्युत् आपूर्तिमा कठिनाइ, उत्पादन लागत बढ्नु, अनावश्यक जनशक्ति भर्नालगायत कारण २०५६ साल फागुनदेखि पूर्ण रूपमा बन्द छ । बन्द उद्योगका मेसिन खियाले खाएका छन् ।

उद्योगका भवनमा सशस्त्र प्रहरीले बलले कार्यालय सञ्चालन गरेको छ । उद्योगका अन्य भवन, आवासगृहको छानाबाट पानी चुहिने, फल्स सिलिङ काम नलाग्ने र भवनको पर्खालसमेत चिरा परेको हेटौँडा औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयका सूचना अधिकारी रमेशराज नेपाल बताउनुहुन्छ । उहाँका अनुसार उद्योगको पेरिमिटर पर्खाल मर्मतसम्भार गर्नुपर्ने अवस्थामा छ भने इलेक्ट्रिफिकेसनलगायत प्लम्बिङ तथा स्टिम पाइप लाइन जीर्ण भइसकेको छ । जीर्ण कपडा उद्योग सञ्चालनका लागि धेरैपटक सरकारका तर्फबाट कार्यदल बने पनि सञ्चालनको आधार अझै तयार भएको छैन ।

२०६५ सालमा बाबुराम भट्टराई अर्थमन्त्री हुँदा नेपाली सेना र निजामती कर्मचारीको पोशाक उत्पादनका लागि उद्योग पुनः सञ्चालन गर्ने निर्णय भएको थियो । त्यसका लागि सरकारले बजेट छुट्याए पनि उद्योग सञ्चालन हुन सकेन । त्यसपछि गठन भएका सरकारले उद्योग सञ्चालनका लागि बजेट छुट्याउँदै आए पनि उद्योगले पुनर्जीवन पाउन नसकेको उपभोक्ता हित संरक्षण मञ्चका केन्द्रीय उपाध्यक्ष वासु खतिवडाले बताउनुभयो ।

नेपाली सेनाले उद्योग सञ्चालनको चासो देखाएको भए पनि सरकारले निर्णय गरेको छैन । पटक–पटक बनेका सरकारले उद्योग सञ्चालनको कुरा चलाउँदै आए पनि कार्यान्वयन प्रकृयाको शुरुवात भएको छैन ।    पोहोर माघमा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पनि बन्द हेटौँडा कपडा उद्योग सञ्चालनका लागि तयारी भइरहेको घोषणा गर्नुभएको थियो । सरकारले आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रममा उद्योग सञ्चालन गर्ने योजना समावेश गरेपछि प्रचण्डलाई नेपाली सेनाले प्रतिवेदन बुझाएको थियो । तर सरकार फेरिएपछि उद्योग पुनः सञ्चालनको योजना कागतमा मात्र सीमित छ । 

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *