चिनियाँ टोलीद्वारा चक्रपथ दोस्रो खण्ड विस्तारको सर्भे हुँदै

न्भेष्टाेपेपर ।  वैशाख १२, २०८२

काठमाडौँ । लामो समयदेखि काम अघि नबढेको चक्रपथ दोस्रो खण्ड विस्तारको काम अघि बढाउन अन्ततः चिनियाँ प्राविधिक टोली आइपुगेको छ । टोलीले दुई महिना सर्भे गर्ने र त्यसपछिका चार महिनाभित्र विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) फाइनल गर्ने चक्रपथ सडक विस्तार आयोजनाले जनाएको छ । त्यसपछि मात्र निर्माण प्रक्रिया अघि बढ्नेछ ।

निर्माण गर्ने ठाउँमा केही समस्या नरहेको र तयारीका सबै काम पनि सकिएको काठमाडौं चक्रपथ सडक विस्तार योजना प्रमुख कृष्णनाथ ओझाले जनाए । डीपीआरको काम सकिएपछि आवश्यक अध्ययन गरेर मात्र त्यसको स्वीकृति सडक विभागले गर्ने उनको भनाइ छ । ‘चीनबाट शनिबार प्राविधिक टोली आएको छ, टोलीले ड्रोन उडाएर सर्भे गर्नेछ,’ उनले भने, ‘विस्तार गरिने क्षेत्रमा काम गर्न अनुमति मागेको छ । त्यसका लागि मंगलबार अनुमति दिइसकेका छौं ।’

सर्भे गर्न चिनियाँ सरकारी कम्पनी सीसीसीसी फस्ट हाइवे कन्सल्टान्ट्स र सीआन फाङ्झाउ इन्जिनियरिङ कन्सल्टिङ लिमिटेडका पाँच जना प्राविधिक आएका छन् । यो संख्या भने थपघट हुँदै जाने सडक विभागले जनायो ।

अहिले कलंकीदेखि सीतापाइलासम्म चार लेन र सीतापाइलादेखि चक्रपथ खण्डमा दुई लेन सडक छ । अब विस्तार गर्दा सर्भिस लेनबाहेक आठ लेन सडक बन्नेछ । गत भदौ ६ मा नेपाल र चीन सरकारका प्रतिनिधिबीच सहयोग गर्नेसम्बन्धी पत्रमा हस्ताक्षर भएको थियो तर त्यसपछि प्रगति नहुँदा सर्वसाधारणमा निराशा थपिएको हो । काठमाडौंका विभिन्न क्षेत्रका सांसदले विस्तारको काम छिटो थाल्नुपर्ने माग राख्दै सरकारलाई दबाब दिँदै आएका थिए ।

कोटेश्वर–कलंकी पहिलो खण्डको काम भने २०६९ मा सुरु भई २०७५ सालमा सकिएको थियो । कोटेश्वरदेखि कलंकीसम्म १०.३९ किमि सडक बनाउन चीनलाई ६ वर्ष लागेको थियो । चीनको ५ अर्ब अनुदानमा उक्त सडक ८ लेनमा विस्तार गरिएको थियो । चीन सरकारको अनुदानमा दोस्रो खण्ड कलंकीदेखि बसुन्धरा कल्भर्टसम्म ८.२ किलोमिटर सडक विस्तार गर्न लागिएको हो । चीनसँग सन् २०१८ मा सडक विस्तारका लागि जीटूजी सम्झौता भएको थियो । याे समाचार कान्तिपुर दैनिकमा प्रकाशित भएकाे छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *