पशुपालनमा ३२ अर्ब चिनियाँ लगानीः दूधालु गार्इ चीनबाटै ल्यार्इने
Investopaper, फाल्गुन १८, २०७५
दैनिक ३५ लिटर दूध दिने होलिस्टान फ्रिजन जातका गाई चीनबाटै ल्याइने छ । योजना सफल हुने देखेर चीन इच्छुक भएको हो, यहाँ दूध खपत नभए चीनले आफैं लैजानेछ ।’
काठमाडौं । विशेषत चीन सरकारले भाैतिक पूर्वाधार र उद्याेग व्यवसायमा सहायता गर्दै अाएकाे थियाे । नेपालमा पछिल्लो समय चिनियाँ लगानी कृषि तथा पशुपालनमा पनि उल्लेख्य रूपमा बढ्न थालेको छ ।
चीन सरकाको अनुदान र ऋण गरी ३२ अर्ब लगानीमा प्रदेश २, ३ र गण्डकीमा मोडेल गाई फार्म स्थापना हुने भएका छन् । प्रदेश ३ र गण्डकी सरकारसँग शुक्रबार सम्झौतामा हस्ताक्षर भएसँगै चिनियाँ गाई नेपाल भित्र्याउने बाटो खुलेको छ ।
प्रदेश २ मा शनिबार सम्झौता हुने कार्यक्रम छ । सार्वजनिक-निजी साझेदारी अवधारणाअनुसार सञ्चालन हुने फार्मबाट दूध तथा दूग्धजन्य पदार्थ, दाना र मल उद्योगसमेत स्थापना गरिनेछ ।
चीनको चाइना एकेडमी अफ एग्रिकल्चर मेकानाइजेसन साइन्स (सीएएएमएस) र चाइना सीएएमसी इन्जिनियरिङ कम्पनीले डेरी विकासबाट ग्रामीण गरिबी निवारण गर्ने भन्दै विभिन्न प्रदेशमा फार्म सस्ञ्चालन गर्न लागेका हुन् । गण्डकी प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले सचिव शरदचन्द्र श्रेष्ठ र सीएएएमएसीका प्रमुख इन्जिनियर वु देछेङले शुक्रबार फार्म सञ्चालनसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरे ।

सम्झौताअनुसार ३ महिनाभित्र आवश्यक जग्गा पहिचान र डीपीआर तयार हुनेछ । पहिलो चरणमा ५ सय गाई ल्याइनेछ । दैनिक ३५ लिटर दूध दिने होलिस्टान फ्रिजन जातका गाई चीनबाटै ल्याइने श्रेष्ठले बताए । गण्डकीको फार्ममा ४ हजार गाई रहनेछन् । एक गाईबराबर ५ रोपनी जग्गा आवश्यक पर्ने भएकाले ४ हजार गाईका लागि २० हजार रोपनी जग्गा खोजी भइरहेको छ ।
गाईलाई डाले घाँसमात्र खुवाइनेछ । चोकर, दाना र पराल खुवाइने छैन । गण्डकी प्रदेशका मनाङ र मुस्ताङबाहेक अन्य जिल्लामा २/२ सय गाई पाल्ने पनि योजनाले समेटेको छ । गण्डकीमा ९ अर्बजति लगानी हुने र सबै प्रदेशमा करिब ३२ अर्बको लगानी हुने अनुमान छ ।
प्रदेश ३ को हेटौंडामा पनि शुक्रबार परियोजनामा हस्ताक्षर भएको छ । परियोजना अवधि ८ वर्ष रहने रहने छ भने गाई फार्ममा नौ अर्ब लगानी हुने अनुमान छ । परियोजना दोलखा र सिन्धुलीमा सञ्चालन गर्ने प्रदेश सरकारले जनाएको छ ।
गण्डकी प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव शरदचन्द्र श्रेष्ठका अनुसार ‘योजना सफल हुने देखेर चीन इच्छुक भएको हो, यहाँ दूध खपत नभए चीनले आफैं लैजानेछ ।’ आजको कान्तिपुर दैनिकमा खबर छ ।
