शहरबाट गाउँ फर्किएर हाँसपालनमा रमाएका चिरञ्जीवी

इन्भेष्टाेपेपर ।  भाद्र २, २०८३

पर्वत । विदेश जाने र शहर पस्ने सपना धेरैको हुन्छ । तर पर्वतको जलजला गाउँपालिका–८ फर्सेका चिरञ्जीवी श्रेष्ठको यात्रा भने फरक छ । दश वर्ष कतार बसेर फर्किएपछि बागलुङ बजारमा ११ वर्ष तरकारी पसल सञ्चालन गर्नुभयो । व्यापार राम्रै चले पनि २१ वर्षपछि उहाँ फेरि आफ्नै जन्मथलो फर्किनुभयो । अहिले मालढुङ्गा–बेनी सडक छेउमा श्रेष्ठ कृषि तथा पशुपंक्षी फार्म सञ्चालन गरेर हाँस, लोकल कुखुरा, बोइलर कुखुरा र तरकारी उत्पादन गरिरहनुभएको छ । 

फार्मसँगै किराना पसल पनि सञ्चालनमा छ । विदेशको अनुभव, सहरको व्यवसाय र गाउँको माटोलाई जोडेर उद्यम गरिरहेका चिरञ्जीवीको जीवनयात्रा धेरैका लागि अनुसरणयोग्य बनेको छ । 

‘एसएलसीसम्मको अध्ययन गरी रोजगारीको लागि १० वर्ष कतारमा बिताएर फर्किएपछि बुबा सुवास र आमा मीनाले गर्दै आएको तरकारीखेतीलाई बजारीकरणमा साथ दिन बागलुङ बजारमा ११ वर्ष तरकारी पसल चलाए’, उहाँले भन्नुभयो, ‘बजारको व्यापार सन्तोषजनक र सफल भए पनि २१ वर्षपछि जन्मथलो फर्किएर बुबाआमासँगै सात महिनाअघि शुरु गरेको फार्मबाट उत्साही छु ।’
आफन्तको तीन रोपनी जग्गा भाडामा लिएर २५ लाख रुपैयाँ लगानीमा हाँस, कुखुरापालन र व्यवसायका लागि संरचना बनाएका श्रेष्ठ परिवारले थप चार रोपनी जग्गामा मौसमी र बेमौसमी तरकारी खेती गरेका छन् । 

बुबाआमाले फर्सेमा उत्पादन गरेको तरकारी बागलुङमा बजारीकरण गरेका चिरञ्जीवी र उहाँकी श्रीमती रितुले रामरेखामा घर बनाउनुभयो । एक जना छोरालाई उच्च शिक्षा अध्ययनका लागि क्यानडा पठाउनुभएको छ भने अर्का छोरा काठमाण्डौमा आइटी विषयमा स्नातकोत्तर अध्ययन गरिरहेका चिरञ्जीवीले बताउनुभयो । 

तरकारीको तुलनामा सजिलो हुने र धौलागिरि क्षेत्रमा नयाँ भएकाले हाँस र कुखुरापालन शुरु गरेको श्रेष्ठले बताउनुभयो । ‘दुई चरणमा प्रतिकिलो छ सय रुपैयाँका दरले करिब चार सय हाँस बिक्रीबाट भएको आम्दानीले सात महिनाको दाना खर्च उठ्यो, एक सय वटा लोकल कुखुरा पनि बिक्री गरेको छ’, उहाँले भन्नुभयो,‘शुरुआती आम्दानीले उत्साही बनाएको छ । ’

उहाँको फार्ममा अहिले चार सय ५० वटा हाँस र एक सय ५० लोकल साकिनी र कोइलर जातका कुखुरा छन् । दुई वटा गाई पालेका उनिहरुले दैनिक छ लिटर दूध बिक्री गर्छन् । कुखुरा र हाँसको अण्डा पनि बिक्री हुन्छ । म्याग्दीको बेनी, पर्वतको कुश्मा र बागलुङ बजार नजिकै भएकाले हाँस र कुखुरालाई बजारको समस्या छैन् । 

उहाँले चिनियाँ मसकोवी जातको हाँस पाल्नुभएको छ । तीन महिना पालेपछि तीन किलोभन्दा बढी तौल हुन्छ । श्रेष्ठले हाँसको चल्ला पनि आफ्नै फार्ममा उत्पादन गर्न थाल्नु भएको छ । स्थानीयस्तरमै हाँसपालन सुरु भएपछि टाढाको बजारबाट मगाउनु नपरेको बेनी नगरपालिका–१ रत्नेचौरको रेष्टुरेष्ट व्यवसायी दिनेश रावलले बताउनुभयो । उहाँका अनुसार हाँसको मासुको छोइला उपभोक्ताको रोजाइमा परेको छ । 

चिरञ्जीवीका बुबा सुवास र आमा मीना छोराबुहारीले बूढेसकालमा जन्मथलो फर्किएर साथ र सहारा दिएकोमा खुसी व्यक्त गर्नुभयो ।  ‘एउटा परिवार दुईतिर हुँदा दुःख भएको थियो’, सुवासले भन्नुभयो, ‘विदेशको राम्रो कमाइ हुने जागीर र बजारको सुविधा त्यागेर छोराबुहारी गाउँ फर्किएकोमा हामीलाई गर्व लागेको छ ।’ 

तरकारी खेतीलाई निरन्तरता दिने र हाँसपालनलाई थप विस्तार गर्ने चिरञ्जिवीको योजना छ । उहाँहरुका छिमेकी सावित्री खत्रीले धेरै मानिसहरु सुविधा र अवसरको खोजीमा बजार झर्ने र विदेशिने गर्दा गाउँबस्ति सुनसान भइरहेको अवस्थामा चिरञ्जीवीले गाउँमै सम्भावना देखाउने प्रयास गरेर सकारात्मक सन्देश प्रवाह गराउनुभएको बताउनुभयो ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *