१७ औं आहा रारा गोल्डकप फूटबलको उपाधि थ्रीस्टारलार्इ
Investopaper, फाल्गुन १८, २०७५
विभागीय टिम त्रिभुवन आर्मी क्लबलाई हराउँदै १७ औं आहा रारा गोल्डकपको उपाधि थ्रीस्टार क्लबले जितेको छ । सडनडेथमा आर्मीलाई हराउँदै थ्रीस्टारले आहा रारा गोल्डकपको उपाधि चुमेको हो ।
निर्धारित समय र थपिएको ३० मिनेटमा २-२ गाेलकाे बराबरीमा टुंगिएपछि खेल पेनाल्टी शुटआउटमा पुगेको थियो । टाइब्रेकर ४-४ को बराबरीमा टुंगिएपछि सडनडेथको सहारा लिनुपर्यो । थ्रीस्टारका मिक्छेन तामाङले निर्णायक गोल गर्दै क्लबलाई उपाधि दिलाउन सफल भए ।
खेलको पाचौं मिनेटमा आर्मीका टेकबहादुर बुढाथोकीले हेडिङमार्फत गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । इन्जुरी समयमा आर्मीका दीपक गुरुङले डिबस्कभित्र हातले बल छुँदा थ्रीस्टारले पेनाल्टी पायाे । साेही अवसरकाे फाइदा उठाउँदै थ्रीस्टारका रञ्जित धिमालले पेनाल्टीमा गोल गरे । दोस्रो हाफमा दुवै तर्फबाट गाेल नभएकाले ३० मिनेट अतिरिक्त समय थपिएको थियो ।
अतिरिक्त समयकाे खेलको १३ औँ मिनेटमा आर्मीका विमल पाण्डेले गोल गरेर पुनः अग्रता दिलाए । थ्रीस्टारका पिटर सेगुनले २२ औँ मिनेटमा गोल थपेर पुनः बराबरी बनाए ।
खेलमा थ्रीस्टारका गोलकिपर एलन न्याैपाने म्यान अफ द म्याच हुँदै १० हजार रुपैयाँ तथा प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित भएर स्कुटर पनि उनैले पाए । प्रतियोगितामा विजेता थ्रीस्टार टिमले ८ लाख एक हजार रुपैयाँ र उपविजेता त्रिभुवन अार्मी क्लवले ४ लाख १ हजार रुपैयाँ प्राप्त गरे ।
