काेपा अमेरिका फूटबलः दुइ पावरहाउसकाे भिडन्तमा ब्राजिलकाे जित
Investopaper, असार १८, २०७६
कोपा अमेरिका फुटबलको सेमीफाइनलमा दुइ पावरहाउस बिच बुधबार विहान भएको भिडन्तमा अर्जेन्टिनालाई २–० ले पराजित गर्दै ब्राजिल फाइनलमा प्रवेश गरेको छ । ब्राजिलको जितमा गाब्रियल जेसुस र रोबर्टो फिर्मिनोले गोल गरे ।
पहिलो हाफमा एक गोलले अघि रहेको ब्राजिलले दोस्रो हाफमा थप एक गोल गर्दै जित हात पारेको हो । खेलको १९औं मिनेटमा नै जेसुसले गोल गर्दै ब्राजिललाई अग्रता दिलाएका थिए । उनकै गोलमा ब्राजिलले पहिलो हाफमा १–० गोलको अग्रता बनाएको थियो ।
दोस्रो हाफमा पनि ब्राजिलले गोल गर्दै आफ्नो अग्रतालाई दोब्बरमा पुर्याएको थियो । ब्राजिलका लागि खेलको ७१ औं मिनेटमा फिर्मिन्होले गोल गरे । उनको गोलसँगै ब्राजिलले २–० गोलको अग्रता बनाएको थियो ।

ब्राजिल सन् २०१२ पछि पहिलो पटक फाइनलमा पुगेको हो । ब्राजिलले उपाधिका लागि चिली र पेरुबीच हुने दोस्रो सेमिफाइनलको विजेतासँग खेल्नेछ । फाइनल खेल आइतबार हुनेछ ।
