फेरी सुनचाँदीकाे उकालाे यात्राः आज ६ सय रूपैयाँ बढ्याे
Investopaper, असाैज ०८, २०७६
उच्च शिखरमा पुगेर केही दिन सम्म घटेकाे सुनकाे भाउकाे उकालाे यात्रा शुरू भएकाे छ । हिजाे सय रूपैयाँले बढेकाे सुन आज ६ सयले बढेकाे छ । यसैगरि चाँदीमा भाउमा पनि आज बृद्धी भएकाे छ ।
नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज असाैज ८ गते बुधवार छापावाला सुन प्रतिताेला ६ सय रूपैयाँले बढेर प्रतितोला ७२ हजार रूपैयाँ कायम भएकाे छ । हिजाे असाैज ७ गते मंगलवार नेपाली बजारमा छापावाला सुन प्रतितोला ७१ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै स्थानीय बजारमा तेजाबी सुनको मूल्य प्रतितोला ७१ हजार ७ सय रुपैयाँमा काराेवार भएकाे छ । तेजाबी सुनकाे मूल्यमा पनि प्रति ताेला ६ सय रूपैयाँले बृद्धी भएकाे छ ।

यसैगरी, चाँदीकाे मूल्यमा पनि सामान्य बढाेत्तरी भएकाे छ । साेमवार चाँदीको मूल्य प्रतितोला ८ सय ८५ रूपैयाँ थियाे भने आज प्रति ताेला ५ रूपैयाँले बढेर ८ सय ९० रूपैयाँमा खरिदबिक्री भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएकाे छ ।
गत साउन सुरुवातदेखि नै लगातार बढेर ७३ हजार ५०० रुपैयाँसम्म पुगेको सुनको भाउ पछिल्लो केही दिन घटेता पनि फेरी बढन शुरू गरेकाे छ र उपभाेक्ताकाे पहुँच बाहिर नै छ । सुनको मूल्य उच्चरूपले बढ्दा सुन कारोबार ठप्प जस्तै भएको व्यवसायीहरू बताउँछन ।
अन्तर्राष्ट्रिय बजारमा सुनचाँदीकाे मूल्यमा फेरबदल आएकाले नेपालमा पनि भाउ घटबढ भएकाे छ । दिनदिनै घटबढ भैरहने सुनचाँदीकाे मूल्य भाेलीका दिनहरूमा के हुन्छ भनेर किटानीकासाथ भन्न नसकिने व्यवसायीहरू बताउँछन ।
