विश्व बैंकको १६ अर्ब सहयोग, युवा रोजगारी र विद्यालय क्षेत्र विकासका लागि खर्च गरिने
मंसिर ११, २०७६
विश्व बैंकले युवा रोजगारी र विद्यालय क्षेत्र विकासका लागि ६ अर्ब ३७ करोड १३ लाख रूपैयाँ ऋण सहयोग गर्ने भएको छ।
युवा रोजगारीका लागि रूपान्तरण परियोजना कार्यान्वयन गर्न १३ अर्ब ६३ करोड रूपैयाँ तथा विद्यालय क्षेत्र विकास कार्यक्रम सञ्चालनका लागि दुई अर्ब ७४ करोड १३ लाख रूपैयाँ सहयोग गर्न लागेको हो ।
अर्थमन्त्रायलमा बुधबार आयोजित एक कार्यक्रममा अर्थसचिव राजन खनाल र विश्व बैँकका देशीय प्रबन्धक फारिस हडाड जेर्भोसले ऋण सहयोगसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।
युवा रोजगारी रूपान्तरण प्रयास परियोजनाले ७५३ वटै स्थानीय तहमा रोजगारी सेवा केन्द्रबाट रोजगारीमा पहुँच वृद्धि गर्नेछ । उक्त परियोजना प्रधानमन्त्री रोजगार कार्यक्रम तथा श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले संयुक्तरूपमा कार्यान्वयन गर्नेछन् ।
कार्यक्रम मार्फत मुलुकको भौतिक पूर्वाधार परियोजनामा अस्थायी रोजगारीका अवसर सिर्जना गरिने छ भने युवा तथा महिलालाई ५० दिन रोजगारीको अवसर उपलब्ध गराइने छ । त्यस अवसरमा सचिव खनालले नेपालको सामाजिक, आर्थिक र शैक्षिक विकासमा विश्व बैंकले निरन्तर गर्दै आएको सहयोगको सराहना गरे ।
— रासस
