उपत्यकाबाहिर सेयर कारोबारले गति लिदैः याे वर्ष करिव २० प्रतिशत पुग्ने
Investopaper, असार ०८, २०७६
नेपाल स्टक एक्सचेन्जका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले प्रविधिमैत्री पुँजीबजार भएका कारण लगानीकर्ताले पारदर्शी रूपमा कारोबार गर्न पाएको बताएका छन् । नेप्सेले कास्कीका पत्रकार र पोखरा विश्वविद्यालयका विद्यार्थीसँग छुट्टाछुट्टै गरेको अन्तरक्रियामा उनले यस्तो बताएका हुन् । उनले भने, ‘नेप्से स्थापना भएको २५ वर्ष भइसके पनि नेपालको कुल जनसंख्यालाई आधार मन्दा यो अझै बाल्यावस्थामै छ ।’ उनका अनुसार अझै पनि सेयरमा फाइदा लिने लगानीकर्ता अनलाइन सिस्टममा गएका छैनन् ।
अहिले १५ लाख लगानीकर्ता नेप्सेमा आबद्ध भए पनि केवाइसी अपडेट गर्ने भने २ लाख मात्र छन् । त्यस्तै, १२ देखि १४ हजार लगानीकर्ताले मात्र नियमित कारोबार गर्ने गरेको उनले बताए । २ सय १३ कम्पनी सूचीकरण भएको नेप्सेमा २२ सहरका ७० स्थानबाट सेयर कारोबार हुने गरेको उनले जानकारी दिए ।
लगानीकर्तालाई सेयरसम्बन्धी सचेतना दिन सबै प्रदेशमा चेतनामूलक कार्यक्रम सञ्चालन गर्ने योजना रहेको उनले बताए । कार्यक्रममा अर्थ मन्त्रालय बैंक तथा वित्तीय महाशाखाका उपसचिव वैकुण्ठनिधि शर्माले पुँजी बजारमा अरूको लहैलहैमा लागेर लगानी नगर्न आग्रह गरेका छन् ।
लगानीकर्ताले अध्ययन तथा विश्लेषण गरेर मात्र अगाडि बढ्नुपर्नेमा उनले जोड दिए । त्यस्तै, नेप्सेका प्रवक्ता मुराहरि पराजुलीले नेपालको पुँजीबजार १६ खर्ब ३२ अर्ब रहेको रहेको बताए । उनका अनुसार अघिल्लो वर्ष काठमाडौंबाहिर १० प्रतिशत हाराहारीमा सेयर कारोबार भए पनि यस वर्ष जेठ मसान्तसम्म करिब २० प्रतिशत पुगेको छ । याे समाचार आजकाे नयां पत्रिकामा छ ।
