कविता — पुकार

— हृदय लेकाली

छन्द — शार्दूलविक्रीडित

साना छन् बहिनी र भाइ घरमा आमा सधैँ काममा
बाबाको उहिले भएछ निधनै हामी थियौँ काखमा
वर्षौटे शिशु काखमा हरघडी स्याहार राम्रो गरी
आमाको थपियो नि काम टुहुरा सन्तान पाल्ने गरी ।

भाँडामा कहिले हुँदैन भरिलो क्यै अन्न पानी घर
अर्काको नसकेर काम कसरी आमा फिरून् खै घर ?
भोकै छन् बहिनी र भाइ घरमा आमा भनी खोज्दछन्
घुम्दै आँगनमा हरेक पलमा आमा भनी सोध्दछन् ।

हाम्रो यो गतिमा छिमेक किन हो हेप्छौ सधैँ नै किन ?
हामी छौँ कलिला कुनै दिन त त्यो फिर्ला कि हाम्रो दिन
वैरी भो क्षमता सदैव धनको पायौँ सधैँ दु:ख नै
टाढाको क्षितिजै भयो नि सुख लौ बाँच्छौँ कि खै दु:ख मै !

आमाको सपना फटाल्नु छ भने चाहिन्न यो जीवन
धर्तीमा उभिएर शूलसरिको चाहिन्न भो यौवन
उस्तै हुन् मनका सबै रहर ती आनन्दले हाँस्नु नै
तिम्रो कान पुगोस् कि ईश्वर त्यहाँ सन्तोषले बाँच्नु नै।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *