जैविक विविधताको संरक्षणमा ध्यान पुर्याउन प्रधानमन्त्रीको आग्रह
इन्भेष्टोपेपर । जेष्ठ २३, २०७७
काठमाण्डौ — प्रधानमन्त्री केपी शर्मा ओलीले जैविक विविधताको संरक्षण र वातावरणको समुचित व्यवस्थापनका लागि ध्यान पुर्याउन सबै निकायसँग आग्रह गर्नुभएको छ ।
विश्व वातातरण दिवसका अवसरमा आज शुभकामना सन्देश दिँदै उहाँले यस दिनले जैविक विविधताको संरक्षणका साथै यससम्बन्धी अध्ययन, अनुसन्धान र व्यवस्थापनमा योगदान पुर्याउने सबै व्यक्तिलाई आआफ्नो जिम्मेवारी अझ सशक्त ढङ्गले अघि बढाउन प्रेरणा दिने विश्वास व्यक्त गर्नुभएको छ ।
प्रधानमन्त्री ओलीले निरन्तर बढ्दो जनसङ्ख्याको चाप र विकासका क्रियाकलापको तीव्रतर कार्यान्वयनबीच वातावरणमैत्री विधि अपनाउनुपर्नेमा जोड दिँदै प्रकृतिलाई जोगाएमा मात्र मानव भविष्य सुरक्षित रहन सक्छ भन्ने विषयलाई आत्मसात् गर्दै कार्यक्रम तर्जुमा र कार्यान्वयन गर्नुपर्ने बताउनुभएको छ ।
हालै कार्यान्वयनमा ल्याइएका पन्ध्राैँ योजनमा वन, जैविक विविधता तथा जलाधार क्षेत्रलाई आर्थिक आधार क्षेत्रका रूपमा समेत परिभाषित गरी तदनुकूलका नीति रणनीति, कार्ययोजना तथा कार्यक्रम तय गरिएको उल्लेख गर्नुहुँदै प्रधानमन्त्री ओलीले यस योजनाको कार्यान्वयनमा तीनै तहका सरकार संवैधानिक क्षेत्राधिकार अनुसार क्रियाशील र दत्तचित्त भएर लागिरहेका उल्लेख गर्नुभएको छ ।
प्रकृतिको नैसर्गिक व्यवस्था प्रतिकूल रहने मानवीय क्रियाकलापले उत्पन्न हुने रोग र महामारीबाट अहिले संसार प्रभावित बनेको सन्देशमा उल्लेख छ । यसबाट सिर्जित दुष्परिणामस्वरुप पृथ्वीको वातावरण खल्बलिन पुगेको र अहिले विश्वभर कोभिड–१९ जस्तो महामारीले जनस्वास्थ्य र आर्थिक जीवनलाई असर पुर्याएको उहाँले बताउनुभएको छ ।
— रासस
