‘डिजिटल म्यापिङ प्रणाली’ : घरमै बसेर माटोको उर्वराशक्ति थाहा पाउन सक्ने नयाँ प्रविधि

इन्भेष्टाेपेपर । फागुन १३, २०७७

किसानले अब आफ्नै मोबाइल वा कम्युटरमा घरमै बसेर खेतबारीको उर्वराशक्ति थाहा पाउन सक्ने भएका छन्। माटोको उर्वराशक्ति पत्ता लगाउन प्रयोगशाला धाउनुपर्ने बाध्यताको अन्त्य गर्दै कृषि तथा पशुपक्षी विकास मन्त्रालयले जिपिएस प्रणालीबाट सफ्टवेयरको माध्यमबाट माटोमा भएको तत्व हेर्न सकिने प्रविधि विकास गरेको छ ।

कृषि अनुसन्धान परिषद् (नार्क) का वैज्ञानिकले चार वर्ष लामो अध्ययन, अनुसन्धानबाट यो प्रविधि विकास गरेका हुन्। मन्त्रालय अन्तर्गतको राष्ट्रिय माटो विज्ञान अनुसन्धान केन्द्रले सिमिट नेपालको सहयोगमा डिजिटल नक्सा तयार पारेको हो ।माटोको तत्व पत्ता लगाउन सकिने प्रविधिसहितको माटोको डिजिटल म्यापिङ प्रणालीको बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरे।

यो प्रविधि दक्षिण एसियामै पहिलोपटक नेपालमा सुरु भएको कृषि तथा पशुपक्षी विकास मन्त्रालयका सचिव योगेन्द्रकुमार कार्कीले बताए। ‘किसानले घरमै बसेर कम्युटर वा मोबाइलको माध्यमबाट आफ्नो खेतबारीको उर्वराशक्ति थाहा पाउन सकिने प्रविधिको विकास गरेका छौं,’ कार्कीले भने, ‘यसबाट किसानले धेरै फाइदा लिन सक्छन् ।’

दक्षिण एसियाका अन्य मुलुकले यो प्रविधिबाट सीमित क्षेत्रको माटोको नक्सा तयार गरे पनि नेपालले देशैभरको नक्सा तयार गरेको मन्त्रालयको दाबी छ। मुलुकभरका २३ हजार दुई सय ७३ माटोको नमूना परीक्षण गरी यो प्रविधि विकास गरिएको मन्त्रालयले जनाएको छ। माटोलाई प्रभाव पार्ने एक सय ६८ वटा कारक तत्वको आधारमा नक्साले सूचना दिन्छ।  

किसानले एसओआइएल डट एनएआरसी डट जिओभी डट एनपीसाइटमा गएर आफ्नो खेतबारीको रसायनिक पक्षबारे जानकारी लिन सक्छन्। यसले माटोमा भएको नाइट्रोजन, फस्फोरस, पोटास, माटाको प्रांगारिक पक्ष हेर्न सक्ने व्यवस्था मिलाइएको छ। डिजिटल नक्साको थालनी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले माटोको जिडिटल म्यापिङ प्रविधिले नेपाली कृषिमा एउटा नयाँ युगको सुरुआत गरेको दाबी गरे। ‘किसानले घरमै बसीबसी मोबाइल वा कम्युटरको माध्यमबाट माटोको गुणस्तर नाप्न सक्छन्,’ प्रधानमन्त्री ओलीले भने, ‘माटोमा कुन पोषक तत्व छ भनेर सहजै पत्ता लगाउन सक्छन् ।’  

नार्कका वैज्ञानिक श्रीप्रसाद विष्टका अनुसार जिपिएसको माध्यमबाट सम्बन्धित ठाउँको तथ्यांक संकलन गरेर कम्युटरले विश्लेषण गरेर रिजल्ट दिने व्यवस्था मिलाइएको छ। ‘नक्साले आफूलाई आवश्यक पर्ने माटोको अवस्था र गुणबारेमा जानकारी दिन्छ,’ उनले भने, ‘माटोको आधारभूत जानकारी सजिलै पाउन सकिन्छ ।’ किसानले माटोको गुण थाहा पाउन अब कहीँ धाउनु नपर्ने उनले बताए। ‘माटोमा कति खाद्यतत्व छ भनेर पत्ता लगाउन सकिन्छ,’ उनले भने, ‘त्यसका आधारमा कुन मल प्रयोग गर्ने भनेर प्राविधिकको सहयोगमा किसानले निर्णय लिन सक्छन् ।’

मुलुकभरका किसालने नक्सा खोलेर आफ्नो प्रदेश, जिल्ला, स्थानीय तहमा क्लिक गरेका आधारमा माटोको तत्व थाहा पाउँछन्। गुगल अर्थ म्यापका आधारमा आफ्नो खेतबारीको माटोमा भएको तत्व पत्ता लगाउने व्यवस्था मिलाइएको छ। ‘कम्युटर प्रविधिले गुगल अर्थ म्यापबाट डाटा विश्लेषण गर्छ,’ वैज्ञानिक विष्टले भने, ‘त्यसका आधारमा परिणाम दिन्छ ।’ 

माटोको उर्वराशक्ति र तत्वबारे थाहा पाएपछि कुन मल प्रयोग गर्ने भनेर किसानले प्राविधिकको सहयोगमा निर्णय लिन सक्छन्। यसले कृषिलाई आधुनिकीकरण गर्न सघाउ पुग्ने कृषि तथा पशुपक्षी विकास मन्त्री पद्मा अर्यालले बताइन्। ‘माटोको डिजिटल म्यापिङ तयार भएको छ,’ उनले भनिन्। अब माटोको उर्वराशक्ति मापन गरेर खेती गर्न सकिने उनले बताइन्।

‘नक्सालाई वेबमात्र नभएर मोबाइल एपबाट पनि प्रयोगमा ल्याउने तयारी गरिरहेको नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) का प्रमुख दिपक भण्डारीले बताए। ‘ठूलो मेहनतबाट यो प्रविधि विकास गरेका हौं,’ भण्डारीले भने, ‘यसले मुलुकमा कृषिको विकासमा सघाउ पुर्‍याउँछ ।’ सरकारलाई पनि कुन ठाउँमा कुन बाली लगाउने भन्ने विषयमा योजना बनाउन यसले टेवा पुग्नेछ।

किसानलाई अनुदानमा मल उपलब्ध गराउन, मलको आपूर्ति व्यवस्थापन गर्न, माटोको सुधारका लागि अम्लीयपन, प्रांगारिक पदार्थको मात्रा तथा सूक्ष्म खाद्यतत्वहरूको सन्तुलन कायम गर्न सघाउ पुग्ने कृषि मन्त्रालयले जनाएको छ। यसले किसानमात्र नभई नीति निर्माता, अनुसन्धानकर्ता, कृषि प्राविधिक निजी क्षेत्रका सेवा प्रदायक संघ–संस्था, मल आयातकर्तालाई समेत माटोसम्बन्धी पूर्ण जानकारी लिन सघाउ पुग्ने विश्वास लिइएको छ। याे समाचार नागरिक दैनिकमा प्रकाशित गरिएकाे छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *