थप एक दर्जन स्थानमा विशेष आर्थिक क्षेत्र (सेज) स्थापनाकाे तयारी

Investopaper, जेष्ठ २९, २०७६

यसअघि छनोट गरिएका सातओटा विशेष आर्थिक क्षेत्र (सेज) बाहेक देशका विभिन्न एक दर्जन स्थानमा सेज स्थापनाको तयारी अगाडि बढेको छ । विशेष आर्थिक क्षेत्र प्राधिकरणले त्यसमध्ये कतिपय ठाउँमा सम्भाव्यता अध्ययन पूरा भइसकेको र केहीमा स्थान छनोट मात्र भएको जनाएको छ ।

सेज सञ्चालनमा निजी क्षेत्रलाई पनि सहभागी गराउन सकिने कानुनी व्यवस्थाअनुसार भविष्यका लागि ठाउँ छनोट गरेर अध्ययनको प्रक्रिया अगाडि बढाएको सेज प्राधिकरणका कार्यकारी निर्देशक डा. चन्डिकाप्रसाद भट्टले जानकारी दिनुभयो । ‘‘निजी क्षेत्रले पनि सेज सञ्चालन गर्न पाउने व्यवस्था भएकाले सेज स्थापना गर्ने ठाउँ विस्तार गर्न लागिएको हो’’– उहाँले भन्नुभयो ।

प्राधिकरणले झापाको कमला गाउँपालिका, सिरहाको लहान नगरपालिका, धनुषाको धनुषाधाम नगरपालिका, रौतहटको यमुनामाई गाउँपालिका, नुवाकोटको बिदुर नगरपालिका, बाँकेको राप्ती सोनारी गाउँपालिका र कैलालीको तालवन शिविरमा थप सेज विस्तारको अध्ययन अगाडि बढाएको हो । यसबाहेक स्थानीय निकायका प्रतिनिधिको मागअनुसार चितवन, सर्लाही, सप्तरी, चन्द्रपुर र बर्दियालाई पनि सम्भावित क्षेत्रका रूपमा राखिएको भट्टले जानकारी दिनुभयो ।

छनोट भएका क्षेत्रमध्ये बिदुर, राप्ती सोनारी र तालवनमा सम्भाव्यता अध्ययन पूरा भइसकेको प्राधिकरणले जनाएको छ । त्यस्तै लहान धुनषाधाम र यमुनामाईमा विस्तृत इन्जिनियरिङ हुने क्रममा रहेको पनि प्राधिकरणले जानकारी दिएको छ । कमल गाउँपालिकामा भने सम्भाव्यता अध्ययन रोकिएको अवस्थामा छ ।

हाल छनोट गरिएका सातओटा सेजबाहेक उद्योग स्थापनाको क्रम बढ्दै जाँदा जग्गाको आवश्यक परेमा त्यसको विकल्पका रूपमा नयाँ ठाउँको पहिचान गरिएको भट्टले जानकारी दिनुभयो । यसअघि प्रत्येक प्रदेशमा कम्तीमा एउटा सेज रहने गरी विराटनगर, सिमरा, पाँचखाल, गोरखा, भैरहवा, जुम्ला र धनगढीमा सेज स्थापनाको प्रक्रिया अघि बढाइएको थियो । त्यसमध्ये भैरहवामा सेज स्थापना भएर उद्योगले उत्पादन सुरु गरिसकेको अवस्था छ ।

सिमरामा पनि तयारी पोसाक प्रोसेसिङ गर्ने क्षेत्र सञ्चालनको लागि उद्योगबाट आवेदन माग गरेको अवस्था छ । यद्यपि आवेदनमा उद्योगीहरूले खास चासो भने देखाएका छैनन् । पाँचखालमा सेज निर्माणको काम सुरु भइसकेको छ भने गोरखामा सम्भाव्यता अध्ययनको काम पूरा भएको छ । जुम्लामा विस्तृत इन्जिनियरिङ अध्ययन सम्पन्न भएको र धनगढीमा विस्तृत सम्भाव्यता अध्ययन पूरा भएको अवस्था छ ।

सरकारले निर्यातमूलक उद्योग प्रवद्र्धन गर्ने उद्देश्यसहित आवश्यक पूर्वाधार निर्माण गरेर २०६० साल माघ १५ गते विशेष आर्थिक क्षेत्र आयोजना स्थापना गरेको थियो । २०७३ असोज १८ गते सेज प्राधिकरण स्थापना गरी अहिले त्यसै अन्तर्गत सेज सञ्चालनको काम अगाडि बढाइएको छ । बढ्दो व्यापार घाटा कम गर्न सेजमा स्थापना हुने उद्योगले ६० प्रतिशत निर्यात गर्नुपर्ने प्रावधान राखिएको छ । गाेरखापत्र दैनिकमा खवर छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *