नामजस्तै काम दिन सक्नुपर्छ : मन्त्री तामाङ

इन्भेष्टाेपेपर । फागुन २३, २०७७

बनेपा । युवा तथा खेलकूदमन्त्री दावा तामाङले नामजस्तै कामको परिणाम देखाउन सक्नुपर्ने बताउनुभएको छ । युवा तथा खेलकुद मन्त्रालयले शनिबार काभ्रेपलाञ्चोकको धुलिखेलमा आयोजना गरेको सूचनाको हकसम्बन्धी गोष्ठीमा उहाँले मातहतका कर्मचारीलाई युवाहरुले नामजस्तै काम दिन युवामा ऊर्जा भएकाले त्यतातर्फ लाग्नुपर्ने बताउनुभयो । “मिटिङ राम्रो हुनका लागि इटिङ राम्रो हुनुपर्छ”, उहाँले भन्नुभयो, “काम गर्नका लागि प्रायःजसो बजेटको अभाव र समस्या भएको भन्ने गुनासोलाई समाधान गर्नका लागि अर्थमन्त्रालय र खेलकूद मन्त्रालयबीचको समन्वयमा आवश्यक व्यवस्थापन गर्न पहल गर्नेछु ।”

त्यसका लागि काम गर्ने वातावारण बनाउनका लागि सबै तयार हुन आवश्यक रहेकामा उहाँले जोड दिनुभयो । कामको सिलसिलामा राष्ट्रसेवक कर्मचारीको सेवासुविधाका लागि थप छलफल गरिरहेको र युवा स्वरोजगारको सन्दर्भमा जिल्ला–जिल्लामा सहजकर्ता मनोनयन गरी बजेटको वयवस्थापन गरी अगाडि बढ्न लागिरहेकाले त्यसमा आवश्यक सुझाव र सल्लाह दिन कर्मचारीलाई आग्रह गर्नुभयो । कतिपय अवस्थामा समस्याकै बीचबाट नै राम्रो नजिता निकाल्नुपर्ने अवस्था रहने भएकाले सबै पक्ष सक्रिय भएर आ–आफ्नो तर्फबाट लाग्न मन्त्री तामाङले आग्रह गर्नुभयो ।

स्काउटको नीतिगत काम अगाडि बढाउनका लागि विद्यालयमा बढी गतिविधि हुने भएकाले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयसँगको समन्वयमा उत्साहजनकरूपमा सबै प्रदेश र स्थानीय तहमा पुर्याउने योजनाका साथ काम भइरहेको मन्त्री तामाङले बताउनुभयो । कार्यक्रममा राष्ट्रिय सूचना आयोगका सूचना आयुक्त कमला ओली थापाले सबै निकायबाट सूचना सरल र सहजरूपमा दिने वातावरण निर्माण गर्न आग्रह गर्नुभयो । कार्यालयमा सूचना माग्न आउने सेवाग्राहीलाई बस्ने व्यवस्था गर्न र सूचना सार्वजनिक गर्न तोकिएको सूचना अधिकारीले महत्वपूर्ण भूमिका खेल्नुपर्ने उहाँको भनाइ थियो ।

जनताको सुसूचित हुन पाउने अधिकार भएकाले सहजरूपमा सूचना दिनुपर्ने र त्यसरी माग गर्दा पाएन भने उजुरीका लागि व्यवस्था रहेकाले सूचना माग गर्दा सबै प्रक्रिया पूरा गरेर उपलब्ध गराउन उहाँले सम्बन्धित पक्षलाई आग्रह गर्नुभयो । कार्यक्रममा युवा तथा खेलकूद मन्त्रालयका सचिव केदार न्यौपानेले नागरिकले सरकारका गतिविधि सबै थाहा पाउनुपर्ने भएकाले सूचना अधिकारीलाई सूचना नलुकाउन आग्रह गर्नुभयो । पुरानो संस्कारअनुसार बोल्नुहुँदैन, विचार गरेर बोल्नुपर्छ र गोप्य रहनुपर्छ भन्ने सोचलाई सुधार गरेर काम गर्न आवश्यक रहेको उहाँले बताउनुभयो । पारदर्शिता भयो भने देश र समाजलाई फाइदा गर्ने भएकाले त्यसतर्फ ध्यान दिन आग्रह गर्नुभयो ।

युवा तथा खेलकूद मन्त्रालयका प्रवक्ता मधुसुदन बुर्लाकोटीले मन्त्रालयसँग काम गर्ने निकायहरु युवा परिषद्, युवा स्वरोजगार कोष, खेलकूद परिषद् र नेपाल स्काउटमा सूचनाको हकमा के–कस्तो काम भइरहेको छ, कस्तो समस्या छ र आउने दिनमा कसरी अगाडि बढ्न सकिन्छ भन्ने विषयमा छलफल आयोजना गरिएको बताउनुभयो । समस्याका बारेमा छलफल गर्ने र आगामी दिनमा सूचनाको हकसम्बन्धी कामलाई अझ प्रभावकारी बनाउन सो कार्यक्रम आयोजना गरेको उहाँले बताउनुभयो । (रासस)

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *