नेपाल टेलिकम द्वारा गैडहवा गाउँपालिकाभर द्रुत गतिको इन्टरनेट सेवा शुभारम्भ
Investopaper, भाद्र २४, २०७६
नेपाल टेलिकमले पहिलो पटक सिंगो गाउँपालिकालाई समेट्ने गरी द्रुत गतिको इन्टरनेट सेवा (एफटीटीएच–फाइबर टु द होम) को शुभारम्भ गरेको छ । हिजो भाद्र २३ गते एक कार्यक्रमका बीच भगवान गौतम बुद्धको पवित्र भूमि रुपन्देही जिल्लाको गैडहवा गाउँपालिकास्थित सूर्यपुरा बजारमा सो सेवाको शुभारम्भ गरिएको छ ।
प्रमुख अतिथिको रुपमा पूर्व मन्त्री तथा सार्वजनिक लेखा समितिका सभापति एवं रुपन्देही क्षेत्र नम्बर ५ का सांसद भरतकुमार शाहले नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनाललाई एफटीटीएच प्रविधिको भ्वाइस तथा भिडिओ कल गरेर सो सेवाको विधिवत् शुभारम्भ गर्नुभयो ।
सो अवसरमा प्रमुख अतिथि शाहले सेवा उपलब्ध गराएकोमा नेपाल टेलिकमलाई धन्यवाद दिदै ग्रामीण भेगमा उच्च गतिको इन्टरनेट सेवा जडान भएकोले सबै समुदायलाई त्यसको उच्चतम प्रयोग गरी लाभान्वित हुन आग्रह गर्नुभयो ।
नेपाल टेलिकम भैरहवा क्षेत्रीय निर्देशनालयका निर्देशक सूर्यनारायण मालाकारले नेपाल टेलिकमले अंगिकार गर्नुपर्ने विभिन्न झञ्झटिला कानुनी प्रावधान र यसका कारण भोग्नु परेका समस्या बारेमा उल्लेख गर्दै कम्पनी सदैव ग्राहक सेवामा केन्द्रित रहेको बताउनु भयो । सम्भवतः नेपालमै पहिलो पटक गाउँपालिका स्तरमा द्रुत गतिको इन्टरनेट सेवा प्रदान गर्ने सुअवसर प्राप्त भएकोमा खुसी व्यक्त गर्दै निर्देशक मालाकारले आगामी दिनमा अन्य गाउँपालिकाहरुमा पनि क्रमशः सेवा विस्तार गर्दै लगिने जानकारी दिनुभयो ।
उक्त कार्यक्रममा त्यस भेगका उद्यमी, व्यवसायी, संघ संस्थाका प्रमुख, गाउँपलिकाका पदाधिकारी लगायत सर्वसाधारणको उल्लेखनीय सहभागिता रहेको थियो । गाउँमा सञ्चार सेवाहरु उपलब्ध नहुँदा र हुँदाका अवस्थाका बारेमा तुलनात्मक व्याख्या गर्दै समग्र गाउँपालिकाको तर्फबाट गैडहवा गाउँपालिकाका प्रमुख बच्चुलाल केवटले आफ्ना भनाइहरु राख्नुभएको थियो ।
कार्यक्रममा एफटीटीएच खरिद गर्ने ग्राहकहरुलाई राउटर (सीपीई) हस्तान्तरण गर्दै खादा ओढाएर सम्मान गरिएको थियो । सोही अवसरमा त्यस भेगका जनतालाई निःशुल्क प्रिपेड सिम समेत वितरण गरिएको थियो ।
