मेगा बैंकका ग्राहकहरुलाई झन सजिलो, डिजिटल भुक्तानीका लागि अब ‘कर्पोरेट–पे’ सेवा

इन्भेष्टाेपेपर ।  मङ्सिर ११, २०७७

मेगा बैंक नेपाल लिमिटेडले आफ्ना संस्थागत ग्राहकहरुका लागि बैंक खाताबाटै डिजिटल भुक्तानी गर्न सकिने गरी ‘कर्पोरेट–पे’ (corporatePAY) प्रणालीको सुरुवात गर्ने भएको छ ।

मेगा बैंक नेपाल लिमिटेडकी प्रमुख कार्यकारी अधिकृत अनुपमा खुञ्जेली तथा नेपाल क्लियरिङ्ग हाउस लिमिटेडका प्रमुख कार्यकारी अधिकृत नीलेशमान सिंह प्रधानले यस सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गर्नुभयो ।

मेगा बैंकले आफ्ना व्यवसायिक ग्राहकहरुलाई प्रदान गर्ने उक्त डिजिटल माध्यममार्फत ग्राहकहरुले बैंकमा नगईकनै रकम स्थानान्तरण, तलब भुक्तानी, भेन्डर पेमेन्ट, सरकारी राजस्व भुक्तानी लगायतका अन्य विभिन्न व्यवसायिक भुक्तानीहरु आफ्नो खाताबाटै सजिलै गर्न सक्नेछन् । उक्त प्रणाली मार्फत connectIPS अथवा NCHL-IPS मा रियल–टाइम वा नन–रियलटाइममा समेत भुक्तानी सम्बन्धी कारोबारहरु गर्न सकिने मेगा बैंकले जनाएको छ ।

corporatePAY मा आबद्व हुनका लागि ग्राहकले मेगा बैंकमा सम्पर्क गरि “corporatePAY” प्रणालीको सुरुवातको लागि स्वीकृति लगायतका आवश्यक प्रक्रिया पूरा गर्नुपर्नेछ । त्यसपश्चात ग्राहकहरुले तोकिएको सीमा भित्र रही कुनै पनि भुक्तानीहरु बैंकको प्रत्यक्ष संलग्नताबिना गर्न सक्नेछन भने तोकिएको सीमा भन्दा बढी रकमको कारोबार गर्नको लागि बैंकले नियमानुसार थप प्रक्रिया पूरा गरेपश्चात गर्न मिल्ने व्यवस्था रहेको छ । यस प्रणालीमा पहुँच पाउन Multi-Layer Authentication को सुरक्षित व्यवस्था गरिएको छ भने कुनै पनि कारोबार प्रविष्ट तथा स्वीकृत ग्राहक आफैले निर्धारण गरेको आधिकारिक प्रयोगकर्ताहरुले मात्र गर्न पाउने गरी यस प्रणालीमा सुरक्षाको व्यवस्था मिलाइएको छ । साथै, ग्राहकले आवश्यक्ता अनुसार यस प्रणालीमा एक भन्दा बढी बैंक खाताहरु पनि लिन्क गरी कारोबार गर्न सकिने प्रावधान रहेको छ ।

आफ्ना ग्राहकहरुका लागि विभिन्न डिजिटल भुक्तानी माध्यामहरु प्रदान गर्दै आएको मेगा बैंकले यस corporatePAY प्रणालीको सुरुवातबाट बैंकका व्यवसायिक ग्राहकहरुलाई डिजिटल भुक्तानीको सेवा प्रदान गर्न थप टेवा पुग्ने विश्वास लिएको छ । यस प्रणालीको प्रयोग र विस्तार पश्चात बैंकको शाखा कार्यालयमा उपस्थित नभई विभिन्न भुक्तानीको कारोबारहरु अनलाईन मार्फतनै गर्न सकिने हुँदा व्यवसायिक ग्राहकहरुलाई अझ बढी सहज हुने बैंकले जनाएको छ ।

corporatePAY प्रणालीको सम्बन्धमा थप जानकारीको लागि बैंकका शाखा कार्यालयहरुमा सम्पर्क गर्न मेगा बैंकले अनुरोध गरेको छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *