मेगा बैंकको १०औं बार्षिक साधारणसभा : लाभांश पारित

इन्भेष्टाेपेपर । माघ ०१, २०७७ 

मेगा बैंक नेपाल लिमिटेडले शेयरधनीहरुका लागि बोनस शेयर सहित १३ दशमलव ०५ प्रतिशत लाभांश पारित गरेको छ ।

काठमाडौँमा बुधबार सम्पन्न मेगा बैंकको दशौं बार्षिक साधारण सभाले आर्थिक वर्ष २०७६÷७७ सम्म सञ्चित मुनाफा एवं वितरणयोग्य रकम मध्येबाट हाल कायम चुक्ता पुँजीको १३ दशमलव ०५ प्रतिशतले हुन आउने १ अर्ब ७३ करोड ८६ लाख ११ हजार ७ सय ५१ रुपैँया ७९ पैसा लाभांश पारित गरेको हो । त्यसमध्ये चुक्ता पुँजीको १० प्रतिशतले हुन आउने १ अर्ब ३३ करोड २२ लाख ६९ हजार ५ सय ४१ रुपैँया ६१ पैसा बोनस शेयर र ३ दशमलव ०५ प्रतिशतले हुन आउने रकम ४० करोड ६३ लाख ४२ हजार २ सय १० रुपैंया १९ पैसा नगद लाभांश साधारण सभाले पारित गरेको छ ।

साधारण सभाले बैंकमा वैदेशिक रणनीतिक साझेदार ल्याउन सञ्चालक समितिलाई अख्तियारी पनि दिएको छ । मेगा बैंकका अध्यक्ष भोजबहादुर शाहले प्रचलित ऐन तथा कानुनको अधिनमा रही वैदेशिक रणनीतिक साझेदारको पहिचान गर्ने सम्बन्धमा आवश्यक कार्य गर्नका लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्न गरेको प्रस्तावलाई साधारणसभाले पारित गरेको हो । यसैगरी, साधारण सभाले गाभ्ने अथवा गाभिने (मर्जर) र प्राप्ति गर्ने सम्बन्धमा आवश्यकता अनुसार मर्जर समिति गठन गर्न, समझदारी गर्न, मुल्यांकनकर्ता नियुक्त गर्न र शेयर आदानप्रदान अनुपात निर्धारण लगायतका कार्यका लागि सञ्चालक समितिलाई अख्तियारी दिएको छ ।

साधारणसभालाई सम्बोधन गर्दै मेगा बैंक नेपाल लिमिटेडकी प्रमुख कार्यकारी अधिकृत अनुपमा खुञ्जेलीले कोभिडबाट अन्य व्यवसाय जसरी बैंकिङ क्षेत्र समेत प्रभावित भए पनि मेगा बैंकको वित्तिय परिसचूक सन्तोषजनक रहेको बताउनुभयो । चालु आर्थिक बर्षको पहिलो त्रैमासिक अवधिसम्म बैंकको कुल निक्षेप १ अर्ब २४ करोड रुपैँयाले बृद्धि भई १ खर्ब ३३ अर्ब २६ करोड रुपैँया पुगेको छ । यसैगरी, खुदकर्जा ८ अर्ब रुपैँयाले बृद्धि भई १ खर्ब २१ अर्ब ८१ करोड रुपैँया पुगेको छ । गत त्रैमासमा बैंकले ६० करोड ७९ लाख रुपैँया खुद मुनाफा आर्जन गरेको छ ।

गत आर्थिक बर्षमा मेगा बैंकले गण्डकी विकास बैंकलाई प्राप्ति गरी संयुक्त कारोबार गरेपश्चात ५८ वटा जिल्लामा आफ्नो शाखा सञ्जाल विस्तार गरेको छ । अहिले उपत्यका र उपत्यकाबाहिर गरी मेगा बैंकका २०६ वटा शाखा कार्यालयहरु, ३४ वटा एक्सटेन्सन काउन्टरहरु, १ सय ४२ वटा एटीएम मेशिन तथा ८९ वटा शाखारहित बैंकिङ केन्द्रहरु रहेका छन् ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *