मेलम्ची खानेपानीको सहायक ठेकेदारको भुक्तानी टुंगो लागेन, माग भेरिफाइ गरिँदै

इन्भेष्टोपेपर ।  फागुन १३, २०७६ 

काठमाडौँ ।  मेलम्ची खानेपानी आयोजनामा यसअघि निर्माणको काम गरेको इटालियन कम्पनी सिएमसीले भुक्तानी गर्न बाँकी सहायक ठेकेदार र आपूर्तिकर्ताको भुक्तानी टुङ्गो लाग्न सकेको छैन।

स्थानीय कामदारको ज्यालाको टुंगो लागे पनि सहायक ठेकेदारको विषयमा टुंगो लगाउन आवश्यक तयारी भइरहेको खानेपानी तथा सरसफाइ मन्त्रालयले जनाएको छ।

सिएमसीले भुक्तानी गर्न बाँकी रहेको रकमसम्बन्धी मागदाबी भएका आधारमा अध्ययन गर्न प्राविधिक समिति गठन भएको छ। मजदुरलाई ज्यालावापतको रकम दिनुभन्दा कम्पनीलाई सामानको भुक्तानी गर्न केही समय लाग्ने मन्त्रालयका प्रवक्ता रितेशकुमार शाक्यले बताए।

‘भुक्तानी बाँकी रहेका भनिएका कम्पनीको माग सही छ/छैन भनी जाँच गर्ने (भेरिफाइ) काम भइरहेको छ,’ उनले भने, ‘त्यो सकिनासाथ भुक्तानी प्रक्रिया अघि बढ्नेछ।’

सिएमसी कम्पनीले निर्माणकार्य अलपत्र पारेर जाँदा त्यहाँ कार्यरत कामदार र आपूर्तिकर्तालाई भुक्तानी गरेको थिएन। कम्पनी गएदेखि नै उनीहरुले आफू पीडित भएको भनी सरकारसँग भुक्तानीको माग गर्दै आएका थिए।

कम्पनीले निर्माणकार्य छाडेर गएसँगै सरकारले चिनियाँ निर्माण कम्पनी सिनो हाइड्रोसँग १५ महिनामा काम सक्ने गरी सम्झौता गरेको थियो। नयाँ कम्पनी निर्माण कार्यमा लागिरहँदा सरकारले यसअघिको समस्या भने समाधान गरिसकेको छैन। सहसचिव नेतृत्वको प्राविधिक समितिले यही साताभित्रमा समस्या हल गरी मेलम्ची असारभित्रमा ल्याउने भनी श्वेतपत्र जारी गर्न लागेको मन्त्रालयले जनाएको थियो।

— रासस

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *