राष्ट्रिय कविता महोत्सव २०७८ मा प्रथम र द्वितिय भएका कविताहरु

इन्भेष्टोपेपर । असार १३ २०७

काठमाण्डाै – राष्ट्रिय कविता महोत्सव २०७८ काे वाचन गर्ने थलाे राष्ट्रिय प्रज्ञा प्रतिष्ठान । यहाँ सयौं कविहरु एउटै ठाउँमा उभिएर कविता वाचन गर्ने र अर्काका कविता श्रवण गर्छन। यस वर्ष असार ९ गते यस्ताे मेलाेमेसाे जुरेकाे थियाे ।

यस वर्ष मूल्याँकनकाे कसिमा भाेजपुरकी कवि कविता राइकाे देशकाे नक्सा नामक कविताले प्रथम स्थान हासिल गरेकाे छ भने धादिङकी कवि अमृता स्मृतिको डढेलाेपछि पनि वसन्त आउँछ नामक कविता दोस्रो भएको छ ।

राष्ट्रिय कविता महोत्सव २०७८ मा प्रस्तुत भएका कविताहरुमध्ये उत्कृष्ट प्रथम र द्वितिय स्थान हासिल गर्न सफल कविताहरु :  

भोजपुरकी कवि कविता राईको प्रथम भएको कविता :

शीर्षक: देशको नक्सा

म कोरिरहेकी छु
देशको सग्लो नक्सा ।
खाली पानामा कोर्छु असङ्ख्य रेखाहरू
जसरी कोर्छ एउटा चित्रकार क्यानभासमा
आफ्नी आमाको मुहारचित्र ।

अनायास करेसाको डिल भत्किन्छ
पर्खाल उठाउँछु
सिकुवासम्मै चिरा पर्न खोज्छ आँगन
कुर्कुच्चा दुखिञ्जेल किच्छु/टाल्छु
र मेट्छु धाँजाहरू !

विषाक्त हावा बोकीआउने आँधी
उडाउनै खोज्छ मलाई
बलेँसी चिरा पार्ने मुसलधारे वर्षा
बगाउन खोज्छ मलाई
छानाबाट झरेका पानीका तप्कनाले समेत
शिरदेखि पैतालासम्मै भिजाउँछ
तर पनि म उभिइरहन्छु पहाडजसरी
घरको मूल खाँबो समातेर
र कोरिरहन्छु सहस्र रेखाहरू !
ओ ! सिमाना काटिजाने चराहरू
पहाड भत्काएर बगिजाने खोलाहरू
देवल उठाइरहेका पौरखी धमिराहरू
माटोको दरबार उठाइरहेका कमिलाहरू
सुन,
भूगोलका यीनै मसिना रेखाहरूले त
जोडेकी छु मैले तीन कोटी स्वाधीन मुटुलाई
जहाँ उम्रिन्छ प्रेम र विश्वासको बिउ
र लटरम्म खुसीको घाम फल्छ !

छामिहेर त
आँखा चिम्लिएर आफ्नै मुटुको ढुकढुकी
हो, धड्किरहेको छ त्यहाँ
छुटेका भूगोलसँगै छुटेका मनहरू
एकाकार भएको
स्वाधीन देशको सग्लो नक्सा ।

धादिङकी कवि अमृता स्मृतिको दोस्रो भएको कविता :

शीर्षक: डढेलोपछि पनि वसन्त आउँछ

हरियो सुसाइड नोट बोकेका परदेशीहरू आउँथे
मगमगाउँथे हार्दिक भावहरू
झमझमाउँथे प्रेयसीका पाउजु
र घिस्रिरहन्थ्यो बुढो लौरी
आमाको घाँसको भारीसँगै गुन्जिन्थ्यो जुहारी
घन्किरहन्थ्यो आदिवासी धुन
ती सबै–सबै कहाँ गए ?
विज्ञान, दर्शन र इतिहास सुनेर थोत्रिएको
पिँढीको गुन्द्री बिर्सिएर
कुन यात्रामा निस्किए माथिल्ला घरे माइला बा ?
भोलि यही बाटोमा भेटिएला/नभेटिएला
आमाका पैतालाका डोबहरू !

न कुनै आहत
न कुनै पदचाप
समय आफैँ मलामी आफैँ मुर्दा बनेर लम्पसार छ
ए ! छिरिङ
ए ! खान
चित्र प्रदर्शन गर्न
किलोको आड चाहिए जस्तै
देशलाई चाहिएको छ
हाम्रा पाखुराहरूको आड
हाम्रा चेतनाहरूको आड
मौरीहरू मुर्झाउन नखोज भर्नै बाँकी छ
यो देशको घारमा महको चमक !

झुल्किन्छ–झुल्किन्छ
हामीले जीवनभर खोजिरहेको उज्यालो घाम
पर्दा बनेको यो कैदी समयमा पनि
तराई, भावर, चुरे र पहाडमा
महाभारत, हिमाल र भोटमा
कुन–कुन जातका फुल फक्रिसके होलान् ?
जङ्गलमा डढेलोपछि पनि रुख/विरुवा पलाउँछन् ।
जङ्गलमा डढेलोपछि पनि वसन्त आउँछ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *