विषादी परीक्षणः चेकजांचमा मापदण्ड भित्रै, जनशक्ति र संरचना बढाइदै

Investopaper, असार २२, २०७६

विषादी तरकारी तथा फलफूल उपभोगले जनस्वास्थ्यमा असर पर्ने देखेर सरकारले विदेशबाट आयात हुने तरकारी तथा फलफूल क्वारेन्टाइन जेकजाँच गरेर आयात गर्ने निर्णय गरेको हो । मन्त्रिपरिषद्ले १० जेठमा निर्णय गर्दै आयात हुने सबै तरकारी, फलफुलको बिषादी परिक्षण गरेर मात्र भन्सार जाँचपास गर्ने व्यवस्था गरेको थियो । सो निर्णयलाई २ असारमा रापत्रमा प्रकाशित गरी लागू गरेको थियो । सूचना प्रकाशित भएलगत्तै भारतलगायत विश्वभरिबाट आउने तरकारी तथा फलफूलको विषादी परीक्षण सुरु भएको थियो ।

२१ प्रयोगशाला, १२० दरबन्दी, ७६ कर्मचारी कार्यरत
झापाको बिर्तामोड, मोरङको विराटनगर, सर्लाहीको नवलपुर, रुपन्देहीको बुटवल, कास्कीको पोखरा, बाँकेको नेपालगन्ज, कैलालीको अत्तरिया र काठमाडौंको कालिमाटीमा तरकारी तथा फलफूलको विषादी परीक्षण प्रयोगशाला छ । बुटवलको प्रयोगशाला प्रयोगविहीन छ भने अन्य सुचारु छन् । काठमाडौंमा पाँच र अन्यमा चार/चारजना गरी २९ जना कर्मचारीको दरबन्दी छ । तर, बुटवलमा एक र अन्यमा दुई/दुईजना मात्र कर्मचारी छन् ।

थप १५ नाकामा क्वारेन्टाइन चेकपोस्ट छन् । त्रिभुवन विमानस्थल, काँकडभिट्टा, विराटनगर, भन्टाबारी, जलेश्वर, मलंगवा, वीरगन्ज, तातोपानी, टिमुरे, भैरहवा, कृष्णनगर, नेपालगन्ज, गड्डाचौकी, लोमाथांका र झुलघाट नाकामा रहेका क्वारेन्टाइनमा बिदेशबाट आउने तरकारीमा नेपालमा नभएका रोग, किरा भित्रिएका छन् कि भनेर हेर्छन् ।

यी चेकपोस्टमा ९१ कर्मचारीको दरबन्दी छ, तर ६३ कर्मचारी मात्रै कार्यरत छन् । तर, नेपालमै रहेका रोग, किराबारे यहाँका मेसिनले हेर्दैन । ‘नेपालमा रहेका हानिकारक रोग, किरा रहेको आशंका भए कृषि विभागमातहतको केन्द्रीय कृषि प्रयोगशालामा परीक्षणका लागि पठाउनुपर्छ,’ प्लान्ट क्वारेन्टाइन एवं विषादी व्यवस्थापन केन्द्रका सूचना अधिकारी रामकृष्ण सुवेदीले जानकारी दिए ।

नयाँ ल्याब राख्न २८ करोड बजेट प्रस्ताव

भारतीय नाकासँग जोडिएका काँकडभिट्टा, विराटनगर, वीरगन्ज, भैरहवा, धनगढी र कञ्चनपुर तथा चीनसँग जोडिएको रसुवा र तातोपानीमा अन्तर्राष्ट्रियस्तरको नयाँ प्रयोगशाला राख्न कृषि तथा पशुपक्षी विकास मन्त्रालय प्रस्ताव गरेको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको स्वामित्वमा सञ्चालन हुने प्रयोगशाला निर्माणका लागि विभागले २८ करोड रुपैयाँ बजेट लाग्ने लागत पेस गरेको छ । ‘हामीले प्रयोगशाला निर्माणका लागि चाहिने उपकरणको मात्र खर्च हेरेर लागत पेस गरेका हौँ,’ विभागका निमित्त महानिर्देशक मतिना जोशी वैद्यले भनिन् । 

१७ दिन परीक्षण, तर एउटा पनि गाडी फर्काइएन

३ असारयता काठमाडौं भित्रिएका तरकारीको कालिमाटीस्थित प्रयोगशालामा नियमित रूपले परीक्षण भइरहेको छ । तर, सबैमा मापदण्डअनुसारकै विषादीको अवशेष भेटिएको छ । प्रयोगशालाका निमित्त प्रमुख जजेश्वर शर्माका अनुसार आलुप्याज, टमाटरमा १० प्रतिशतको हाराहारीमा विषादीको अवशेष भेटिएको छ । बढी मात्रामा केरामा २२ प्रतिशत र आँपमा २१ प्रतिशत विषादीको अवशेष देखिएको छ ।

‘स्वास्थ्यका दृष्टिकोणले ३५ प्रतिशतसम्मको विषादी प्रयोगलाई राम्रै मानिन्छ । आयातीत तरकारीको परीक्षण गर्दा केही समस्या देखिएको छैन,’ उनले भने, ‘परीक्षण गरेका सबै तरकारीको विषादी मात्रा पास भएका छन् ।’ उनले कालिमाटीमा दैनिक करिब ७० नमुना परीक्षण गर्दै आएको जानकारी दिए । याे समाचार आजकाे नयां पत्रिकामा छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *