सामाजिक सञ्जाल नियमन गर्ने निर्देशिका ल्याइने
इन्भेष्टाेपेपर । माघ ३० २०७७
काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले प्रेस स्वतन्त्रता तथा वाक स्वतन्त्रतालाई असर नपर्ने गरी सामाजिक सञ्जाल नियमन गर्ने निर्देशिका ल्याउन लागेको बताउनुभएको छ ।
मन्त्रालयद्वारा आज आयोजित दोलखाली पत्रकारसँगको अन्तर्क्रिया कार्यक्रममा उहाँले भन्नुभयो, “सामाजिक सञ्जालबाट दैनिकजसो विभिन्न किसिमका अपराधजन्य क्रियाकलाप बढ्दै गएको हुँदा उक्त निर्देशिका ल्याउने लागेको हो ।” यसले अभिव्यक्ति स्वतन्त्रतालाई कुनै पनि असर नपर्ने उहाँले स्पष्ट पार्नुभयो ।
“सामाजिक सञ्जाललाई व्यवस्थित गर्नका लागि निर्देशिका ल्याउने तयारी मात्र गरेको हो, सरोकारवालापक्षसँग छलफल गरेर मात्र यसलाई अन्तिम रूप दिने हो”, मन्त्री गुरुङले भन्नुभयो, “प्रचलित कानुनअनुसार नेपालमा दर्ता गरेर मात्र सामाजिक सञ्जाल चलाउने व्यवस्था होस भन्ने उद्देश्य हो ।”
उहाँले पत्रकारिताको गरिमालाई उठाउनका लागि काम गर्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “प्रेस स्वतन्त्रता र वाक स्वतन्त्रतालाई अङ्कुश लगाउने गरी कुनै निर्देशिका बनाउन लागिएको होइन ।”
मन्त्री गुरुङले फेसबुक, ट्विटर, युट्युब, भाइवर, इमो, ह्वाट्सअप, इन्स्टाग्राम, म्यासेन्जर, वी च्याट, टीकटकलगायत सामाजिक सञ्जाल नेपालभित्र अनिवार्य रूपमा दर्ता गर्ने व्यवस्था भएमा हिंसा, अपराधजस्ता अप्रिय घटनमा कमी आउने उद्देश्यले मात्र नियमन गर्ने निर्देशकाको विषयमा छलफल भइरहेको स्पष्ट पार्नुभयो ।
मुलुकलाई सूचना प्रविधिको हिसाबले स्मार्ट सिटी बनाउने उद्देश्यका साथ बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकको निर्णयअनुसार शनिबार दोलखाबाट उक्त अभियान सुरु गर्ने नीतिगत निर्णय गरेकोसमेत उहाँले जानकारी दिनुभयो ।
विज्ञापन बोर्डका सदस्य बलराम थापाले समानुपातिक विज्ञापन प्रणाली लोककल्याणकारी राज्यको दृष्टिकोणले सुरु गरिएको नयाँ अवधारणा भएको र त्यो लागू गर्न सकिएमा नेपालको इतिहासमा राम्रो काम हुने बताउनुभयो ।
नेपाल पत्रकार महासङ्घका उपाध्यक्ष दिलीप थापामगरले वर्तमान सञ्चार मन्त्री प्रेसमैत्री भएको अनुभव सुनाउँदै सूचना विभागको पास नवीकरण गर्नका लागि जिल्ला जिल्लाबाट काठमाडौँ आउनुपर्ने बाध्यताको अन्त्य गर्नु असाध्यै राम्रो काम भएको बताउनुभयो ।
उहाँले विज्ञापन बोर्ड गठन गरी समावेशी विज्ञापन प्रणाली लागू गराउन प्रयत्न गर्नु र पत्रकारका पीडा सुन्ने मन्त्रीको रुपमा आफूले पाएको बताउनुभयो ।
प्रेस युनियन नेपालका महासचिव अजयबाबु शिवाकोटीले कोरोनाको जोखिमका अवस्थामा धेरै पत्रकारले रोजगारी गुमाउनुपरेको जानकारी गराउँदै स्वरोजगारमूलक सञ्चारमाध्यमलाई सरकारले सहयोग गर्ने स्पष्ट नीति ल्याउन जरुरी रहेको सुझाव दिनुभयो ।
कार्यक्रममा सहभागी पत्रकारले मन्त्री गुरुङ आएपछि सञ्चार र प्रविधिको क्षेत्रमा अग्रगामी काम भइरहेको र आगामी दिनमा पनि विवादरहित ढङ्गले काम गर्न सुझाव दिनुभएको थियो । (रासस)
