१५ लाखको जागिर छाडेर पर्वतारोहणमा : छाेटाे समयमा धेरै कीर्तिमान राख्ने नेपाली युवा
Investopaper, भाद्र २०, २०७६
मासिक १५ लाखको जागिर छोडेर नेपाल र नेपालीको नामका लागि पर्वतारोहण गर्ने उनको नाम नेपालीलाई भने बिरलै थाहा छ। उनी हुन्– म्याग्दी दाना गाउँपालिका–३ का निर्मल पुर्जा (निम्स)।
बेलायती सेनाको ‘स्पेसल फोर्स’को निकै आकर्षक सेवा सुविधा छोडेका उनले छोटो अवधिमा हिमाल आरोहणमा विभिन्न शीर्षकमा विश्व कीर्तिमान राखेका छन् ।
उनले तीन महिनाभित्र सर्वोच्च शिखर सगरमाथासहित विश्वका ८ हजार मिटरभन्दा बढी उचाइका १४ मध्ये ११ वटा हिमालको सफल आरोहण गरिसकेका छन् ।
एकै सिजनमा नेपालका ६ वटा हिमाल ३१ दिनमा आरोहण गरेको विश्व कीर्तिमान अब उनको नाममा छ। ‘फास्टेस्ट समिट अफ दी टप थ्री माउन्टेन’ (सगरमाथा, केटु र कञ्चनजंगा)को कीर्तिमान पुर्जाले कायम गरेका छन् । यसै गरी ‘फास्टेस्ट समिट अफ दी टप फाइभ माउन्टेन’ (सगरमाथा, केटु, कञ्चनजंगा, लोत्से र मकालु_ आरोहणको कीर्तिमान पनि उनकै नाममा अभिलेख भएको छ।
पुर्जाले अन्नपूर्ण, कञ्चनजंगा, धौलागिरि, सगरमाथा, लोत्से, मकालु, नाग्गा पर्वत, जी वान, जी टु, के टु, ब्रोड पिज जस्ता ११ वटा हिमाल आरोहण गरिसकेका छन् ।
विश्वप्रसिद्ध बेलायती घडी ‘ब्रेमन्ट’ले पुर्जालाई सद्भावना दूत घोषणा गर्दै आरोहणका लागि आर्थिक सहयोग उपलब्ध गराइरहेको छ। नेशनल जिइयोग्राफिक च्यानल (अमेरिका), आउटसाइड म्यागेजिन (अमेरिका), दी टेलिग्राफ (बेलायत), स्काई स्पोस्ट्र्स (बेलायत), गुड मर्निङ च्यानल (बेलायत), रेड बुल टेलिभिजन (अस्ट्रिया) जस्ता विश्व चर्चित सञ्चार माध्यमले उहाँका अन्र्तवार्ता र समाचार तयार गरिसकेका छन्।
छाेटाे समयमा धेरै किर्तिमान राखेकाे भनेर पर्वतारोहणसँग आबद्ध पाकिस्तानको अल्पाइन क्लबले पुर्जालाई विशेष सम्मान गरिसकेको छ। सरकारले उहाँको सम्मानलाई कदर गर्दै नेपाल भ्रमण वर्ष २०२० को सन्दर्भमा पुर्जालाई सद्भावना दूत बनाउने तयारी गरिरहेको छ। यो समाचार आजको नेपाल समाचारपत्रमा छापिएको छ ।