अख्तियार द्वारा डेढ सय जना कर्मचारी माथि अनुसन्धानकाे भैरहेकाे
Investopaper, श्रावण ०९, २०७६
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अकुत सम्पत्ति आर्जन गरेको अभियोगमा करिब डेढ सय कर्मचारीमाथि अनुसन्धान भइरहेको जनाएको छ ।
भ्रष्टाचार नियन्त्रण, सुशासन कायम र आयोगबाट भइरहेका कार्यसम्पादनका विषयमा बुधबार विभिन्न सञ्चारमाध्यमका सम्पादकहरूसँगको छलफलमा प्रमुख आयुक्त नविन घिमिरेले व्यक्तिको सार्वजनिक प्रतिष्ठा र अनुसन्धानमा असर पुग्ने भएकाले उनीहरुको विवरण सार्वजनिक नगरिएको बताए ।
छानबिनका क्रममा रहेका व्यक्तिविरुद्घ अदालतमा मुद्दा दायर भएपछि मात्रै आयोगले त्यस बारे विस्तृत विवरण सार्वजनिक गर्ने उनले स्पष्ट पारे । भ्रष्टाचार नियन्त्रण तथा अकुत सम्पत्ति छानबिनमा आम मानिसको अख्तियारसँग ठूलो अपेक्षा रहेको बताउँदै घिमिरेले त्यस अनुसार आयोगले काम गरीरहेको दाबी गरे ।
‘आयोगले एक सय ३०-४० भन्दा बढी व्यक्तिको सम्पत्ति छानबिन गरिरहेको छ,’ आयुक्त घिमिरेले भने,‘व्यक्तिको सार्वजनिक प्रतिष्ठालाई ख्याल गरेर अदालतमा आरोपपत्र दायर नभएसम्म विषय सार्वजनिक गर्दैनौं ।’
गैरकानुनी सम्पत्ती आर्जन विरुद्घ सम्पत्ति शुद्धीकरणसँग एमओयु नै गरेर सूचना आदानप्रदान भइरहेको उनले खुलाए । कार्यक्षेत्र समितिका कारण सम्पत्ति शुद्धीकरण र राजस्व अनुसन्धान विभागसँग समन्वय गरेर काम गर्नुपरेको उनले स्पष्ट पारेका छन । याे समाचार आजको नागरिक दैनिकमा छापिएको छ ।
