अचम्म ! नेपालमै भेटियो सेतो काग
Investopaper, भाद्र १६, २०७६
काठमाडौँ — काठमाडौंको टोखामा सेतो काग भेटिएको छ । यससँगै काग कालो मात्र हुन्छन् भन्ने बुझाइ गलत सावित भएको छ ।
चराविद्हरू मोहनविक्रम श्रेष्ठ, पूर्णमान श्रेष्ठ, आनन्दकुमार श्रेष्ठ र सुवर्ण घिमिरेको टोलीले शनिबार टोखाको ठूलो लाछीमा सेतो काग फेला पारेको हो । टोखावासीका अनुसार उक्त सेतो काग ४–५ वर्षदेखि काब्रोको रूखमा गुँड बनाएर बस्दै आएको छ । स्थानीयले त्यसलाई पहिचान गर्न सकेका थिएनन् ।
‘स्थानीय बूढापाकाले पहिले नै देखेका रहेछन्,’ चरा अनुगमन र संरक्षण शिक्षामा काम गर्दै आएका आनन्दकुमार श्रेष्ठले कान्तिपुरसित भने, ‘सेतो कागको पहिलो पटक तस्बिर खिच्न सफल भएका छौं ।’ केहीअघि कीर्तिपुरमा सेतो काग भेटिएको थियो ।
टोखामा भेटिएको सेतो कागको प्वाँख सेतो भए पनि ठुँड, आँखा र खुट्टाका नङ्ग्रा भने काला छन् । यसको आनीबानी र आहारा भने कालो कागको जस्तै छ ।
चराविद्हरूका अनुसार उत्परिवर्तन भएर कागको रङ सेतो भएको हो । वंशाणुगत गुणमा अचानक आउने परिवर्तनलाई उत्परिवर्तन भनिन्छ ।
‘पृथ्वीमा उत्पन्न विभिन्न कारणले वंशाणुगत गुण नै बदलिएर रङ फेरिएको हुनसक्छ,’ उनले भने, ‘यसबारे विस्तृत अध्ययन गर्नु आवश्यक देखिएको छ ।’ सेतो काग नेपालका अन्य स्थानमा रेकर्ड भएको छैन ।
— कान्तिपुर दैनिकबाट
