इन्टरनेटको मूल्य नबढ्नेः गत वर्षकाे संझाैता लागुगर्ने सरकारी निर्णय
Investopaper, जेष्ठ ३१, २०७६
साउन १ गतेदेखि इन्टरनेटको मूल्य बढने चाैतर्फै हल्ला चलिरहेकाे बेला, अव मूल्य नबढ्ने भएको छ। मन्त्रिपरिषद्को जेठ २३ गते बसेको बैठकले इन्टरनेट जडान गर्दा लाग्ने राउटरलगायत उपकरण, इन्ट्रानेट–लिज लाइन डाटा कनेक्टिभिटी र मर्मत–सम्भार शुल्कमा दूरसञ्चार सेवा दस्तुर छुट दिने निर्णय गरेको थियो। यससँगै इन्टरनेट सेवा प्रदायकले मूल्य नबढ्ने बताएका छन्।
इन्टरनेट सेवा प्रदायक कम्पनी आव ०७६/०७७ को बजेटमा १३ प्रतिशत दूरसञ्चार सेवा शुल्क हट्ने आसमा थिए। तर, यस बजेटले ०७५/०७६ को बजेटमा भएको प्रावधानलाई निरन्तरता दियो। उक्त प्रावधानले निरन्तरता पाएसँगै सेवा प्रदायक साउन १ गतेबाट इन्टरनेटको मूल्य बढाउने तयारीमा थिए।
मन्त्रिपरिषद्को बैठकको निर्णय बिहीबार सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बास्कोटाले इन्टरनेट जडान गर्दा लाग्ने राउटरलगायत उपकरण, इन्ट्रानेट–लिज लाइन डाटा कनेक्टिभिटी र मर्मत–सम्भार शुल्कमा दुरसञ्चार सेवा दस्तुर छुट दिने निर्णय गरेको बताए। उनले अघिल्लो वर्ष सेवा प्रदायकसँग भएको सम्झौताको आधारमा यो निर्णय भएको उल्लेख गरेका छन्।
यो निर्णयसँगै इन्टरनेको मूल्य नबढ्ने इन्टरनेट सेवा प्रदायक कम्पनीको छाता संगठन इन्टरनेट सेवा प्रदायक संघ नेपाल (आईएसपीएन) का अध्यक्ष भोजराज भट्टले बताएका छन्। ‘गत वर्षको मन्त्रालयसँग भएको सम्झौताकै आधारमा निर्णय भएको भए इन्टरनेटको मूल्यका कुनै असर पर्दैन’, भट्टले भने, ‘यो निर्णयसँगै साउन साउन १ गतेबाट इन्टरनेको मूल्य बढाउने तयारीमा रहेको आईएसपीएनले मूल्य बढाउने छैनन्।’
