इश्वरकाे लिलाः नायग्रा झरनामा १८८ फिट तल खस्दापनि जीवितै
Investopaper, असार २६, २०७६
नायग्रा फल्स पार्क प्रहरीले भनेको छ एकजना व्यक्ति त्यहाँको झरनामा करिब १८८ फिट तल उर्लँदो नदीमा खसेका थिए। तर उनी जीवितै फेला परे।
“जब इरी ताल उच्चस्तरमा र वेगले ओन्टारीयो तालतर्फ बग्छ तब हर्सशु झरना मुन्तिर रहेका ठूल्ठूला चट्टानबाट जोगिने सम्भावना धेरै हुन्छ ।” – मेयर जीम डियोडाटी
उक्त पुरुष मङ्गलवार बिहान त्यहाँको ‘रिटेनिङ वाल’ पर्खालमा चढेको देखिएका थिए, त्यसपछि टुप्पोबाट खसे, प्रहरीले ट्वीटरमा उल्लेख गरेको छ।
त्यसपछि प्रहरीले उनलाई खोजेको थियो। उनी सामान्य चोटपटकसहित चट्टानमा बसिरहेको अवस्थामा भेटिए। परिचय नखुलाइएको ती पुरुषलाई त्यसपछि अस्पताल लगिएको थियो।
कसरी बाँचे उनी?
ती पुरुष हर्सशु झरना – जुन नायग्रा झरनाका तीन मध्ये सबैभन्दा ठूलो झरना हो – को छेउनिर थिए। बफ्यालो न्यूजका अनुसार उनलाई पछि ‘जर्नी बिहाइन्ड द फल्स’को अवलोकन गर्ने स्थान नजिक रहेको नदीको तीरमा भेटिएको थियो।
क्यानडाको ओन्टारीयो पट्टि पर्ने नगरका मेयर जीम डियोडाटीले उक्त पत्रिकालाई त्यहाँको नदीमा रहेको अति उच्च जलस्तरका कारण ती मानिस जोगिएको हुन सक्ने बताए।
“जब इरी ताल उच्चस्तरमा र वेगले ओन्टारीयो तालतर्फ बग्छ तब हर्सशु झरना मुन्तिर रहेका ठूल्ठूला चट्टानबाट जोगिने सम्भावना धेरै हुन्छ,” उनले भने। त्यतिमाथिबाट खस्दा त्यस्ता ढुङ्गामा बजारिन बाट बचेमात्र ज्यान जोगिन सक्ने उनले बताए।
पर्यटकका लागि आकर्षणः
अमेरिका र क्यानडाको सिमानामा पर्ने नायग्रा झरना उत्तर अमेरिकाको सबभन्दा ठूलो झरना हो। त्यहाँ हरेक वर्ष दशौँ लाख पर्यटक पुग्छन्।
नायग्रा झरना पार्कको वेबसाइट अनुसार त्यहाँ प्रत्येक मिनेट ६० लाख क्युबिट फिट पानी झर्ने गर्छ। सो झरनामा परेर विगतमा कैयौँ मानिसको ज्यान गइसकेको छ भने थोरै बाँचेका पनि छन्।
बफ्यालो न्यूजका अनुसार हरेक वर्ष झरनामा हाम फालेर करिव २५ जनाले आत्महत्या गर्ने गर्छन्।
- बिबिसीबाट
