उत्पादन कम, विदेशमा समेत निर्यात भएकाले अकबरे खुर्सानीको माग उच्च
इन्भेष्टाेपेपर । मङ्सिर ३०, २०७७
इलाम । किसानका लागि आम्दानीको भरपर्दो स्रोत बन्न थालेको अकबरे खुर्सानीको माग अहिले बजारमा उच्च छ । मौसम चिसो भएसँगै अकबरेको माग बढ्नु स्वाभाविक हो तर यो वर्ष किसानले लगाएको अकबरे खेती रोगले सखाप भएपछि उत्पादन कमी भएका कारण पनि माग उच्च भएको किसानको बुझाइ छ । यो वर्ष किसानको घरघरबाटै यो सिजनमा प्रतिकिलो ४८० रुपियाँदेखि पाँच सय रुपियाँ दरले अकबरे बिक्री भइरहेको छ ।
सूर्योदय नगरपालिका–१२, आठघरेका किसान मदन राईले त यो वर्ष प्रतिकिलो छ सय रुपियाँका दरले पनि अकबरे बिक्री गर्नुभएको छ । सात वर्षयता अकबरेको व्यावसायिक खेती गरिरहेका राईले उत्पादन गरेको अकबरेको माग त स्थानीय बजारदेखि विदेशमा समेत रहेको बताउनुभयो । राईले यो वर्ष दुई सय किलो अकबरे हङकङ पठाएको जानकारी दिनुभयो । भारत, अमेरिका, साउदी, कतार, मलेसिया र हङकङमा बसोबास गर्ने नेपालीले इलामको अकबरे माग गर्ने गरेका छन् ।
राई भन्नुहुन्छ, “ती देशबाट आएको मागअनुसार हामीले अकबरे पठाउनै सक्दैनौँ । ” राईले पूर्ण अर्गानिक अकबरे उत्पादन गर्ने भएकाले पनि माग उच्च रहेको छ । १० हजार बोट अकबरे लगाएका राईले मङ्सिर बित्न लाग्दा पनि अझै अकबरे टिप्दै हुनुहुन्छ । तीन सय किलो अकबरे बिक्री गरिसकेका राई भन्नुहुन्छ, “विभिन्न मसला उद्योग र चाउचाउ उद्योगको माग धान्न पनि सकिँदैन । ”
राईसँग दाना अर्थात् अकबरेको बीउको माग पनि उत्तिकै छ । गत वर्ष प्रतिकिलो २५ हजार रुपियाँका दरले सात किलो दाना बियाँ गरेका राईले यो वर्ष पनि बीउको तयारी गरिरहेको बताउनुभयो । धेरै किसानको खुर्सानी बगान नै सखाप हुँदा पनि रोग देखा नपरेकाले उत्पादन राम्रो भएको राईले बताउनुभयो । अकबरे रोप्न राईको प्रविधि अलि फरक छ ।
प्लास्टिक टनेलभित्र अकबरे खेती गरेका राईले हुस्सुबाट जोगाउन सक्दा उत्पादन राम्रो हुने बताउनुभयो । राईले आफ्नो खेतीमा विशेष गरी गाईको गोबरमल, गहुँत, निमको पिना, हड्डीको धुलो, आफैँले उत्पादन गरेको गड्यौले मल प्रयोग गरिरहनुभएको छ । दहीबाट घिउ निकालेर बनाइएको मोहीलाई पनि निश्चित पद्धतिमा ढालेर रोगबाट बालीनाली बचाउन प्रयोग गर्ने गरेको राई बताउनुहुन्छ ।
यता मूल्य राम्रो भएपछि अकबरे खेती आफ्ना लागि निकै फलदायी भएको माईजोगमाई गाउँपालिका–५, सोयाङकी किसान टीका चापागाईं बताउनुहुन्छ । छ सय बोट मात्र अकबरे लगाएकी चापागाईंले अहिले पनि सातामा पाँच किलोभन्दा बढी खुर्सानी बिक्री गरिरहेको बताउनुभयो । “घर खर्च टार्न र नानीहरूलाई कापी, विद्यालय पोसाक सबै यसैले धानेको छ ।”
माग उच्च भए पनि यो वर्ष रोगका कारण अकबरेमा ठूलो नोक्सानी भएपछि सूर्याेदय नगरपालिकाले किसानको बारीबारीमै प्राविधिक पठाएर माटो तथा रोग जाँच गरेको छ । पुनः अकबरेमा रोग लाग्न नदिन किसानलाई सचेत गराउँदै नगरपालिका कृषि शाखा प्रमुख नारायण लम्सालले रोग र माटो परीक्षण गर्दा अकबरेमा ‘ब्याक्टेरियन बिल’ देखिएको बताउनुभयो । प्रमुख लम्सालले रोग लागेको अकबरे जरैबाट उखेलेर डढाउन र किसानलाई यस्तो रोग देखा परेको अकबरे रोपेको स्थानमा एक वर्षसम्म मटर, सिमीजस्ता कोसे बाली लगाउन सल्लाह दिनुभएको छ ।
जिल्लाका पञ्चकन्या, सोयाङ, नामसालिङ, सुम्बेक, सुलुबुङ, माईमझुवा, गोदक, कन्याम, लक्ष्मीपुरलगायत गाउँका किसानले अकबरेको व्यावसायिक खेती गर्दै आएका छन् । जिल्लाको १५५ हेक्टर क्षेत्रफल जमिनमा अकबरे खेती हुँदै आएको कृषि ज्ञान केन्द्र इलामले जनाएको छ । याे समाचार गाेरखापत्र दैनिकमा प्रकाशित भएकाे छ ।
