कविता — पुकार
— हृदय लेकाली
छन्द — शार्दूलविक्रीडित
साना छन् बहिनी र भाइ घरमा आमा सधैँ काममा
बाबाको उहिले भएछ निधनै हामी थियौँ काखमा
वर्षौटे शिशु काखमा हरघडी स्याहार राम्रो गरी
आमाको थपियो नि काम टुहुरा सन्तान पाल्ने गरी ।
भाँडामा कहिले हुँदैन भरिलो क्यै अन्न पानी घर
अर्काको नसकेर काम कसरी आमा फिरून् खै घर ?
भोकै छन् बहिनी र भाइ घरमा आमा भनी खोज्दछन्
घुम्दै आँगनमा हरेक पलमा आमा भनी सोध्दछन् ।
हाम्रो यो गतिमा छिमेक किन हो हेप्छौ सधैँ नै किन ?
हामी छौँ कलिला कुनै दिन त त्यो फिर्ला कि हाम्रो दिन
वैरी भो क्षमता सदैव धनको पायौँ सधैँ दु:ख नै
टाढाको क्षितिजै भयो नि सुख लौ बाँच्छौँ कि खै दु:ख मै !
आमाको सपना फटाल्नु छ भने चाहिन्न यो जीवन
धर्तीमा उभिएर शूलसरिको चाहिन्न भो यौवन
उस्तै हुन् मनका सबै रहर ती आनन्दले हाँस्नु नै
तिम्रो कान पुगोस् कि ईश्वर त्यहाँ सन्तोषले बाँच्नु नै।
