कविता : मेरा पालयिता

— अस्मित भुसाल,स्याङ्जा

छन्द :- शार्दूलविक्रीडित

मेरा निम्ति बलिष्ठ पर्वतहरू चिर्दै तिमी लम्कियौ
मेरा लागि अघोर काल निशिमा आदित्य झैँ चम्कियौ ।
मेरो पेट भरेर त्यो कहरमा भोको तिमी बस्दछौ
आफ्नो चाह छ बीचमा तर सधैँ मेरै खुसी रोज्दछौ ।।
(१)
मेरो अश्रु पुछेर नेत्रजलमा बाबा तिमी पौडियौ
आगो सामु अजस्र नग्न पदले बाबा तिमी दौडियौ ।
रोपी फूल सुवासिलास जहरिला काँडाहरूमा हिँड्यौ
मेरो स्वच्छ भविष्य खातिर तिमी संसार सारा भिड्यौ ।।
(२)
सारा सङ्कट कष्ट भेदन गर्‍यौ हौ साहसी भास्कर
मेरो प्यास निमित्त रूक्ष मरुमा खोद्यौ सुधा पुष्कर ।
धान्यौ भार जहानको जनक हे बोकी सदा माथमा
एक्लो थेँ जब हारमा जित बनी आयौ तिमी साथमा ।।
(३)
मेरो यो तन छोप्न कप्पड बनी आफू स्वयम् नाङ्गियौ
आफ्ना कैयन लक्ष्यका पथहरू छोडी सदा बाङ्गियौ ।
तिम्रो त्यो पसिना अकाल वयमा खोला बनी बग्दछ
तिम्रो चिन्तन साधना उदकमा आगो बनी बल्दछ ।।
(४)
तातो राप पिएर त्यो अनलको पानी बनी बर्षियौ
थाप्यौ वक्ष र शत्रुका अगि सदा शार्दूल झेैँ गर्जियौ ।
गर्छौ उग्र प्रयत्न कोसिस तिमी सङ्घर्षका बिम्ब हौ
गर्दैछौ अभिवृद्धि उन्नति तिमी उत्कर्षका चिह्न हौ ।।
(५)
तिम्रा कोमल स्वर्ण हात भरका रेखाहरू मेटिए
बाबाको परिधानमा भुवनमा द्यौता स्वयम् भेटिए ।
तिम्रो दिव्य मुहारमा चमक त्यो पाऊँ सदा हेर्न म
तिम्रो नाम प्रसूनको गमक झैँ पाऊँ सदा छर्न म ।।
(६)
तिम्रा निम्ति नफेरिने नियतिको आकार नै फेर्छु म
तिम्रा खातिर यो समस्त भवको गाथा नयाँ कोर्छु म ।
तिम्रो प्राण निमित्त काल सँगमा लड्नै परे लड्छु म
तिम्रा सौख्य र हर्ष खातिर यहाँ सानन्दले मर्छु म ।।
(७)

(छन्द चाैतारीबाट)

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *