गजल : फाटेको मन मिल्दैन जोडे पनि
— याेगेन्द्र रेग्मी
फाटेको मन मिल्दैन जोडे पनि
सत्य लुक्दैन बहानाले मोडे पनि
कुसंस्कारले राम्रो हुँदैन है
जतिसुकै टाउको फोडे पनि
बालीनाली सपार्न ज्यादै कठिन छ
बिना मलजल खेतबारी गोडे पनि
सबैको नजरमा राम्रो हुन सक्ला र ?
इमान जमान आफैँले तोडे पनि
आफूलाई असल नै ठानिरहन्छ
स्वंयका गल्ती देख्न छोडे पनि
लागी परी राम्रो योजना लागू गरेमा
सुन्दर सहर पक्कै हुन्छ बोडे पनि
पालो सबैले पाउँछ यस दुनियाँमा
एकदिन आउँछ जात्रा घोडे पनि
