चन्दननाथ बाबाको सेरा ज्युलोमा कालीमार्सी धान राेपाँइ

न्भेष्टाेपेपर । जेठ २४, २०८०

जुम्ला : चन्दननाथ बाबाको सेरा ज्युलोमा कालीमार्सी धान रोपिएको छ। परापूर्वकालदेखि नै चन्दननाथ भैरवनाथ गुठी समितिले जेठ १४ गते रोप्दै आएको मन्दिरको खेत योपटक जेठ २४ गते रोपिएको हो।

चन्दननाथ भैरवनाथ गुठी समितिका कोषाध्यक्ष नवराज श्रेष्ठका अनुसार योपटक पानी र बीउका अभावले १४ गते हुने रोपाइँ २४ गते भएको हो। चन्दननाथ बाबाको सेरा ज्युलो परापूर्वकालदेखि नै मन्दिरमा अक्षता चढाउनका लागि मार्सी धान रोप्ने गरिन्छ।

सेरा ज्युलोमा मार्सी रोपाइँका लागि चन्दननाथ नमुना मावि र रत्नचुडेश्वर माविका विद्यार्थी र स्थानीय महिलाले सहयोग गरेका छन्। चन्दननाथ नगरपालिका–५ का वडाध्यक्ष  बिर्खबहादुर कार्कीले जिल्ला विषादीमुक्त भएको जिल्ला भएकाले विषादी निषेध गर्ने र जैविक मल उत्पादनका लागि पहल गर्ने बताए। उनले भने, ‘हामी कर्णालीवासी कृषिमा निर्भर छौँ। हामीले आयातित खाद्यान्नको भर पर्नु हुँदैन।’

उनले बजारमा भित्रिएको खाद्यान्नले रोगी बनाएको भन्दै महिला दिदीबहिनीलाई स्थानीय बाली उत्पादनमा जोड्न आग्रह गरे। उनले भने, ‘जुम्लामा फल्ने मार्सी धानको पहिचान बचाउन हामी सबैले हातेमालो गर्न आवश्यक छ।’

त्यस्तै सेरा ज्युला रोप्दै गर्दा मागल गाउने, पञ्चेबाजा बजाउने गरिन्छ। जुम्लाको धार्मिक इतिहाससँग जोडिएको चन्ददनाथको सेरा ज्युलो र पहिचानसँग जोडिएको मार्सी धान रोप्दा मागल गाउने परम्परा रहेको कमलादेवी देवकोटाले बताइन्।

त्यसैगरी चन्दननाथ मावि स्कुलकी शिक्षिका लक्ष्मी  रावतले सेरा ज्युलो रोप्न सहयोग गर्नका लागि १५० जना छात्रा आएको बताइन्।

उनले भनिन्, ‘कक्षा नौ र दशमा अध्ययनरत छात्रालाई ल्याइएको हो। प्रत्येक वर्ष गुरु चन्दननाथ बाबाको सेरा ज्युलोमा काली मार्सी धान सबैको सहयोगमा रोपिदै आएको छ।’ ( दिलमाया शाही, उज्यालाे खवरबाट)

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *