दुई हुण्डी कारोबारी ३८ लाख नगद र चेक सहित पक्राउ
मंसिर १३, २०७६
बिहीबार प्रहरीले अवैध हुण्डी कारोबार गरेको आरोपमा काठमाण्डौंबाट दुईजनालाई पक्राउ गरेको छ। प्रहरीले दुई जनाबाट ३८ लाख १२ हजार रुपैयाँ नगद तथा विभिन्न व्यक्तिको नाममा काटिएको चेकसमेत बरामद गरेको छ।
काठमाडौँ उपत्यकाभित्र गैरकानूनी तवरले हुण्डीको कारोवार गरी राजश्व छली गरिरहेको भन्ने सूचनाको आधारमा महाशाखाबाट खटिएको टोलीले काठमाडौँको न्युरोडबाट उनीहरुलाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका–१८ नरदेवीस्थित अञ्जनी ओभरसिजका सञ्चालक गोवद्र्धनप्रसाद सरावगी र अर्घाखाँची शीतगङ्गा नगरपालिका–४ का २३ वर्षीय कृष्णप्रसाद भट्टराई रहेको महानगरीय अपराध नियन्त्रण महाशाखाका प्रमुख सहकुल थापाले जानकारी दिए।
प्रहरीले भट्टराईबाट रु ३० लाख तथा सरावगीबाट रु आठ लाख १२ हजार बरामद गरेको हो।
— रासस
