नागरिक स्टक डिलर कम्पनीले धितोपत्र व्यापारीको कार्य गर्न अनुमति पायाे

इन्भेष्टाेपेपर । माघ १०, २०७७

नागरिक लगानी कोषको सहायक कम्पनी नागरिक स्टक डिलर कम्पनी लि.ले धितोपत्र व्यापारीको कार्य गर्न बोर्ड समक्ष निवेदन दिएकोमा उक्त कम्पनीलाई धितोपत्र व्यापारीको कार्य संचालन गर्न अनुमतिपत्र प्रदान गरिएको छ ।

बोर्डले नेपालको पूँजी बजारमा संस्थागत लगानीकर्ताको प्रबेशलाई प्रोत्साहन गर्न नागरिक लगानी कोष जस्तै विशेष ऐनद्वारा स्थापित वित्तीय संस्थाले बोर्डबाट अनुमतिपत्र प्राप्त गरी धितोपत्र व्यापारीको कार्य सक्ने व्यवस्था समेटी मिति २०७६।११।०१ देखि लागू हुने गरी धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावली, २०६४ मा संशोधन गरेको थियो ।

साथै, नेपाल सरकारको बजेट बक्तव्यमा समेत पूँजी बजारमा संस्थागत लगानी अभिबृद्धि गर्न स्टक डिलरको कार्य सञ्चालनमा ल्याउने व्यवस्था उल्लेख भएको थियो । उक्त पृष्ठभूमिमा नेपालको पूँजी बजारमा संस्थागत लगानीकर्ताको प्रवेशमा शिघ्रता ल्याउन संस्थागत लगानीकर्ताको रुपमा कार्य गर्न सक्ने तथा पूँजी बजारको विकासमा गतिशिलता ल्याउने उद्देश्यले स्थापित नागरिक लगानी कोषको सहायक कम्पनी नागरिक स्टक डिलर कम्पनी लि.लाई धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावली, २०६४ बमोजिमको आवश्यक प्रक्रिया पूरा गरेपश्चात् बोर्डले धितोपत्र व्यापारीको कार्य संचालन गर्न अनुमतिपत्र प्रदान गरेको हो ।

नेपालको पूँजी बजारमा हाल स–साना लगानीकर्ताको बाहुल्यता रहेको तथा संस्थागत लगानीकर्ताको न्यून उपस्थिति रहेको सन्दर्भमा नागरिक स्टक डिलर कम्पनी लि.को प्रवेशसँगै उक्त कम्पनीबाट अध्ययन तथा अनुसन्धानमार्फत् हुने लगानीसम्बन्धी सुझबुझपूर्ण क्रियाकलापबाट पूँजी बजारमा गतिशिलता आई बजारको विकासमा महत्वपूर्ण भूमिका खेल्ने विज्ञप्ति मार्फत बोर्डले जानकारी गराएकाे छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *