कविता : नेपालको गीत
— भैरवी भूगोल (राष्ट्रिय कविता महोत्सव २०७७मा प्रथम)
ओढेर एक डँडाल्नो घाम
खाएर एक फाँको हावा
बाँचिरहेछ
यो घामपानीको जीवन।
थाहा छैन कुन धातु
सक्रिय छ मभित्र
र उच्चानुभूति गरिरहन्छु
म आफूमा।
लाग्छ,
तराईको फाँटजस्तै
फराकिलो बनाइदिऊँ—
मानिसको छाती,
सगरमाथाजस्तै उच्च बनाइदिऊँ
नेपालीको शिर,
ज्ञान, विज्ञानको माटोले
भरिपूर्ण बनाइदिऊँ
मानिसहरूको मस्तिष्क
र त्यहीँबाट उमारौं
समानताको शिरुवा
विकास गरौं—
मानव समाजको
विभेदरहित अध्याय।
समस्त मानव जीवनहरूमा
भरिदिऊँ इन्द्रेणीका रङहरू,
कहिल्यै नदुख्ने बनाइदिऊँ
अस्ताउन लागेका
घामहरूका देब्रे छाती
र हरेक रात गस्तीमा निस्किँदा
नभेटियून्
आकाश ओढेर
धर्ती ओछ्याइरहेकाहरू।
सबैलाई टन्न अघाइदिऊँ
कसैको नखोसीकन,
सबैलाई बराबर उठाइदिऊँ
कसैलाई नहोच्याईकन,
कहिल्यै नदुखून् खाडीमा
श्रमका क्यालकुलेटरहरू
र पूरै सफा बनाइदिऊँ
झन्डा मैलाइरहने
धुलाम्य सडकहरू।
युगौंदेखि नक्साको साक्षी बसिरहेको सूर्य
उस्तै उदाइरहोस् अनन्तसम्म
विशाल नेपालको फलकमा,
संगच्छध्वम् संवदध्वम्
शिरोपर गरेर
जपिरहौं चरैवेतीको मन्त्र
निर्माण गरौं समृद्ध नेपाल।
अनि
नेपाली मन, पहिचान बोकेर
समतामूलक समाजमा
स्वतन्त्रतापूर्वक बाँचिरहून्
मेरा सन्ततीहरू
गाइरहून् नेपालको गीत
जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसी।
– नुवाकोट
