पाइन छोड्यो तरुल र कन्दमूल, ब्रोइलरकै भरमा माघेसङ्क्रान्ति !

गलेश्वर। माघेसङ्क्रान्ति तरुल, सखरखण्ड, चाकु, खिचडी र कन्दमूल खाएर मनाइने पर्व हो । पछिल्लो समय म्याग्दीका ग्रामीण क्षेत्रमा तरुल र कन्दमूल पाइन छोडेपछि गाउँलेले ब्रोइलर कुखुराको मासु र भात खाएर माघेसङ्क्रान्ति मनाउन थालेका छन् ।

शहरमुखी प्रवृत्तिका कारण खेती गर्ने, बारी, कान्ला र खोरियामा तरुल, सखरखण्डलगायत कन्दमूल लगाउने जनशक्ति अहिले गाउँमा छैन । अध्ययन, जागिर र वैदेशिक रोजगारीको बहानामा युवाले धमाधम गाउँ छोड्दैछन् भने पाको पुस्तासँग पनि पहिलेको जस्तो खेतबारीमा खनीखोस्री गर्ने, कन्दमूल लगाउने, खेतबारीका गह्रा र कान्ला मिलाउने, उकास्ने जाँगर मर्दै गएका कारण ग्रामीण भेगमा पहिलेदेखि हुने र पाइने गरेका फलफूल र कन्दमूल लोप हुँदै गएका छन् ।

“गाउँगाउँमा डोजर छिरेपछि र व्यावसायिक खेतीको शुरुआत भएपछि तरुल र कन्दमूल लगाउने चलन हराउँदै गयो,” बेनी नगरपालिका–२ का ७९ वर्षीय बेदप्रसाद शर्माले भने, “पहिले पहिले माघेसङ्क्रान्ति आउनुभन्दा ८÷१० दिन अघिदेखि नै गाउँमा तरुल र सखरखण्ड खन्ने गर्दथे, डोकाका डोका तरुल र सखरखण्ड निकालिन्थ्यो । अहिले सबै एकादेशका कथा जस्तै भए ।”

गाउँमा अहिले व्यावसायिक तरकारीखेती, फलफूल खेती र पशुपालन फष्टाउँदै गएको भए पनि परम्परागत कृषि, चाडपर्व मान्ने तथा संस्कृतिको अनुशरण गर्ने पद्धतिमा परिवर्तन देखिएको छ । पढेलेखेका र जागिर व्यवसायमा लागेका युवा आधुनिक संस्कृति, रहनसहन र खानपानमा अभ्यस्त हुँदै गएपछि पराम्परागत संस्कृति, रहनसहन र खानपानका तौरतरिका तथा परिकार लोप हुँदै गएको बूढापाकाको भनाइ छ ।

रूचीमा परिवर्तनः

“युवायुवती तरुल, भ्याकुर, गिठ्ठा र सखरखण्ड खान रुचाउँदैनन्, न त उनीहरुलाई तरुल सखरखण्ड खन्ने जाँगर नै छ, हामीले यी चिजको महत्वका बारेमा बुझाउन सकेका छैनौँ,” खबराका भद्रबहादुर कार्कीले भन्नुभयो, “तरुलको ठाउँ अहिले ब्रोइलर कुखराको मासुले पो लियो, न खोज्नको झण्झट न खन्नको ।”

बिहानै बेनी बजारबाट कुखुराको मासु किन्दै गरेका स्थानीयवासी प्रेम शाहीले पसलमा ताजा र राम्रो तरुल नपाइएको र आयातीत तरुल पनि अत्यन्त महँगो भएकाले माघे सङ्क्रान्ति ब्रोइलर कुखुराको मासुले नै टार्न बाध्य हुनुपरेको बताए । “आज त खिर्चो, साँधेको पिँडालु, उसिनेको सखरखण्ड, तरुलको तरकारी र भाँगोको अचार खाएर माघेसङ्क्रान्ति पर्व मनाउने इच्छा थियो”, उनले भने, “अहिले यी चिज गाउँमा त पाइन छोडे, शहरको त के कुरा १”

व्यवसायीका अनुभवः कन्दमूलकाे अभाव

विगतका वर्षको तुलनामा अहिले बजारमा तरुल थोरै मात्रामा आएको छ भने माग पनि कम रहेको तरकारी व्यवसायी बताउँछन् । “गाउँबाट तरुल आएकै छैन, तराईबाट आएको तरुल हो,” बेनीबजारका तरकारी व्यवसायी प्रवाश रेग्मीले भन्नुभयो, “चौध किलो तरुल राखेको हुँ, पाँच किलो पनि बिक्री भएको छैन ।” मासु पसलसँगै तरकारी बिक्री गर्दै आउनुभएका रेग्मीले तरुलको तुलनामा मासुको बिक्री ८० गुणा बढी रहेको बताए ।

तरुलमात्रै होइन माघेसङ्क्रान्तिमा खानै पर्ने परिकार खिर्चो (खिचडी) पनि खान छोडिएको छ । खिर्चो बनाउनका लागि अनिवार्य मानिने मास गाउँघरमा पाइन छोडेको छ । जिल्लामा मासको उत्पादन अत्यन्त कम हुने हुँदा बजारमा मास सहजरुपमा पाइँदैन । बाहिरबाट आएको मास किनेर खिर्चो खानुपर्ने बाध्यता रहेको स्थानीयवासी बताउँछन् ।

-रासस, माघ १, २०७५
Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *