भारतको जीडीपी वृद्धि दर नेपालको भन्दा पनि कम
Investopaper, भाद्र १७, २०७६
नयाँ दिल्ली – गत शुक्रबार भारतको केन्द्रीय तथ्यांक कार्यालयले अप्रिल–जुन त्रैमासिक अवधिको कुल ग्राहस्थ उत्पादन (जीडीपी) को आंकडा सार्वजनिक गरेको थियो । उक्त आंकडाबाट देशको आर्थिक वृद्धि दर घटेर ५ प्रतिशतमा झरेको देखाएको छ ।
भारतको यो वृद्धि दर करिब ७ वर्षकै न्यून हो । अर्को चाख लाग्दो कुरा के छ भने भारतको यो वृद्धि दर नेपाल तथा बंगलादेशको भन्दा पनि कम हो । यद्यपि भारतको वृद्धि दर चीनको भन्दा बढी रहेको छ ।
यो अवधिमा बंगलादेशको जीडीपी वृद्धि दर ७.९० प्रतिशत रहेको छ भने नेपालको ७.१० प्रतिशत रहेको छ ।
प्रत्येक देशको जीडीपी तय गर्ने मापदण्ड फरक फरक हुन्छ । भारतको केन्द्रीय तथ्यांक कार्यालय (सीएसओ) यसको निर्धारण गर्दै आएको छ । यो कार्यालयले उत्पादन तथा सेवाको मूल्यांकनका लागि एक आधार वर्ष तय गर्छ ।
कुल ग्राहस्थ उत्पादन (जीडीपी) लार्य कुनै पनि देशको आर्थिक स्वास्थ्यको मापन गर्ने महत्वपूर्ण विधि मानिदै आएको छ । जीडीपी कुनै विशेष अवधिमा देश भित्र बस्तु तथा सेवाको उत्पादनको कुल मूल्य हो । नेपालमा जस्तै भारतमा पनि जीडीपीको गणना प्रत्येक त्रैमासिक अवधिमा हुने गरेको छ ।
यदी जीडीपीको आंकडा बढ्यो भने यसको अर्थ देशको विकासको गती सही मार्गमा आएको मान्न सकिन्छ । यसैगरी यदी आंकडा लगातार कम भयो भने देश खतरातर्फ गएको मान्न सकिन्छ । जीडीपी थोरै भयो भने मानिसको औसत आय पनि कम हुन्छ र नागरिक गरिबीको रेखामुनी जान थाल्छन् ।
यसका अतिरिक्त रोजगारी सिर्जनाको गती पनि सुस्त हुन थाल्छ ।
— एजेन्सी/काराेवार दैनिकबाट
