माथिल्लो तामाकोशी तोकिएको समयमै पूरा हुने

Investopaper, भाद्र १७, २०७६

माथिल्लो तामाकोशी जलविद्युत आयोजना तोकिएको समयमा नै पूरा गर्ने गरी निर्माण कार्य अगाडि बढाइएको छ ।

आयोजनाको सबैभन्दा अप्ठ्यारो मानिएको ठाडो सुरुङमा पाइप राख्ने कामलाई योजनाबद्ध रूपमा अगाडि बढाइएको आयोजनाका प्रवक्ता डा गणेशप्रसाद न्यौपानेले जानकारी दिए ।
लामो समयको प्रयासपछि अत्यन्तै जटिल र चुनौतीपूर्ण मानिएको तल्लो ठाडो सुरुङमा गत असार १ गते र माथिल्लोमा असार ९ गतेबाट पेनस्टक पाइप जडान शुरु गरिएको थियो । उनका अनुसार हालसम्म कूल ५२.५ मिटर पेनस्टक पाइप जडान भइसकेको छ ।

यसै सातामा थप २५ मिटर पेनस्टक पाइप राख्ने तयारी गरिएको छ । आयोजनाका अनुसार तल्लो ठाडो सुरुङ ३७२ मीटर लामो रहेको छ भने माथिल्लो ठाडो सुरुङ ३१० मिटर लामो छ । पेनस्टक पाइप आपूर्ति तथा जडानको ठेक्का पाएको भारतीय कम्पनी टेक्स्म्याकोले काम गर्न ढिलाइ गरेपछि तल्लो ठाडो सुरुङमा पाइप जडानको जिम्मा इलेक्ट्रोमेकानिकलको ठेकेदार अष्ट्रियन कम्पनी एन्ड्रिज हाइड्रोलाई दिइएको छ ।

अपर तामाकोशी हाइड्रोपावर लिमिटेड, टेक्सम्याको र एन्ड्रिजबीच गत २३ पुसमा आयोजनालाई थप वित्तीय भार नपर्ने गरी यो काम गर्न त्रिपक्षीय सम्झौता भएको थियो । माथिल्लो ठाडो सुरुङमा पाइप जडान भने टेक्स्म्याकोले नै गरिरहेको छ ।

प्रवक्ता न्यौपानेका अनुसार माथिल्लो ठाडो सुरुङमा पाइप जडानका लागि भारतीय ठेकेदार कम्पनीले थप २० कामदार कोलकाताबाट ल्याएको छ । कामदार थपिएपछि ठाडो सुरुङ निर्माण प्रक्रियाले थप गति लिने विश्वास लिइएको छ । आयोजनाको अवस्थालाई हेरेर सरकारले सबै प्रकारको सहयोग उपलब्ध गराएको छ ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले हरेक महिनाजसो नै आयोजनास्थल पुगी समस्या समाधानमा सहजीकरण गरिरहेका छन् ।

गत साउन ६ गते माथिल्लो ठाडो सुरुङमा पाइप जडानको काम सन्तोषजनक नपाइएपछि कार्यकारी निर्देशक घिसिङले भारतको कोलकातास्थित टेक्स्याकोका प्रमुख कार्यकारी अधिकृत जीसी अग्रवाललाई आयोजनास्थलबाटै फोन गरी विगतमा जनाइएका प्रतिबद्धता पूरा गर्न आग्रह गरेका थिए ।

‘गोरखा भूकम्प’ त्यसपछिका परकम्प एवं बाढीपहिरोले पु¥याएको क्षति तथा अवरोध, मधेश आन्दोलनका कारण निर्माण सामग्री ढुवानी र इन्धन आपूर्तिमा आएको समस्या, डिजाइन परिवर्तन, हाइड्रोमेकानिकल ठेकेदारको कमजोर कार्यसम्पादनलगायतले गर्दा आयोजनाको निर्माणमा केही ढिलाइ भएको थियो ।

यही भदौ १२ गतेको प्रतिनिधिसभाको बैठकमा पूर्वअर्थमन्त्रीसमेत रहेका भएका नेपाली काँग्रेसका सांसद ज्ञानेन्द्रबहादुर कार्कीले माथिल्लो तामाकोशी आयोजनामा भइरहेको ढिलाइप्रति गुनासो गरेका थिए ।

कार्कीले कूल ४५६ मेगावाट क्षमताको सो आयोजनाको भौतिक प्रगति ९८ प्रतिशत भएको तर केही महत्वपूर्ण काम बाँकी छ भन्दै ढिलाइ गरिएकामा गुनासो गरेका थिए ।

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनका अनुसार आयोजनामा कुनै पनि ढिलाइ हुन नदिने गरी योजनाबद्ध रूपमा काम भइरहेको छ । मन्त्री पुनको गत चैत ९ गतेको निर्देशनअनुसार कार्यकारी निर्देशक घिसिङले हरेक महिना आयोजनास्थलमा पुगी निर्माणमा खटिएका आयोजनाको व्यवस्थापन, ठेकेदार कम्पनी र परामर्शदाता कम्पनीका प्रतिनिधिसँग बैठक गर्दै आएका छन् ।

मन्त्री पुनले पछिल्लो पटक तय गरिएको तालिकाभित्रै निर्माण सम्पन्न गर्न हरेक महिना आयोजनास्थलमै उच्चस्तरीय बैठक राख्न निर्देशन दिएका थिए । पेनस्टक पाइपको भार नै बढी हुने भएकाले त्यसलाई मिलाएर काम गर्नुपर्ने अवस्था छ ।

प्रवक्ता न्यौपानेका अनुसार पेनस्टक पाइप राखिएको स्थानमा ढलान तथा अन्य काम पनि गर्नुपर्ने भएकाले केही समय लाग्छ ।

आयोजनाको निर्माण आर्थिक वर्ष २०७३-७४ भित्र सकी विद्युत उत्पादनको लक्ष्य राखिएको थियो । भूकम्पलगायतका कारणले आयोजनाको निर्माण प्रभावित भएपछि आव २०७५-७६को पुस महिनाभित्र निर्माण सक्नेगरी नयाँ एकीकृत समय तालिकाका तय गरिएको थियो । भारतीय ठेकेदार कम्पनीको कमजोर कार्यसम्पादनका कारण निर्माण प्रभावित भएको हो ।

आयोजनाको विद्युत गृह निर्माण सम्पन्न भई तयारी अवस्थामा छ भने प्रसारण लाइनको निर्माण अन्तिम चरणमा छ । आयोजना आगामी चैतभित्र सम्पन्न गर्ने तयारी छ ।

— रासस

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *