लाइसेन्सका लागि अनलाइन फारममा समस्या आउँदा सेवाग्राही हैरान

इन्भेष्टाेपेपर । पुष २५, २०७७ 

काठमाडौं । यातायात व्यवस्था कार्यालयमा नयाँ चालक अनुमतिपत्रका लागि अनलाइन फारममा समस्या आउँदा सेवाग्राही हैरान भएका छन् । 

विभागले यातायात कार्यालयअनुसार निश्चित संख्यामा मात्रै सेवाग्राहीले भर्न पाउने व्यवस्था गर्दा समस्या आइरहेको छ । सर्भरमा पनि समस्या आइरहेको विभागले जानकारी दिएको छ । तोकिएको संख्या सकिएपछि सर्भरले काम नगर्ने र सेवाग्राहीले दुःख पाइरहेको गुनासो आएको विभागका निर्देशक रामचन्द्र पौडेलले बताए । 

उनका अनुसार अहिले सर्भर स्तरोन्नति गर्ने गरी छलफल भइरहेको छ । त्यस्तै, संख्या तोकिदिँदा सेवाग्राही फारम नै भर्न नपाएकाले त्यो हटाउने गरी छलफल भइरहेको उनले बताए । तत्काल इच्छुक सबै सेवाग्राहीको फारम संकलन गर्ने र पालैसँग परीक्षाका लागि बोलाउने गरी छलफल भइरहेको छ । उनले भने, ‘एक दुई दिनमा नै केही निर्णय गर्न सकिन्छ ।’

एकै पटक धेरै सेवाग्राहीले फारम भर्दा सर्भरमा समस्या आउँदा विभागको सेवा दुई दिनका लागि अवरुद्ध भएको थियो । बिहीवारबाट सुचारु गरिए पनि अहिले पनि सेवाग्राहीले सहज रुपमा फाराम भर्न नपाएको गुनासो छ । उनले भने, ‘१० महीना रोकिएको सेवा खुलाउन लाग्दा धेरै सेवाग्राही हुनु स्वभाविक हो, कसरी व्यवस्थापन गर्ने भनी छलफल भइरहेको छ ।’ 

आफूले पटक- पटक प्रयास गर्दा पनि फाराम भर्न नसकेपछि धेरै सेवाग्राहीले विभाग र कार्यालयहरुमा गुनासो गरिरहेका छन् । देशभरका अधिकांश स्थानका सेवाग्राही फाराम भर्न नपाएको गुनासो रहेको उनले बताए । कोभिड–१९ संक्रमणको जोखिलाई ध्यान दिएर विभागले कार्यालय वा विभागमा नगरेर अनलाइन भर्ने व्यवस्था गरेको हो । उनले भने, ‘सजिलोका लागि यो प्रणाली ल्याइएको हो ।’ 

चन्द्रागिरि नगरपालिका वडा १२ बलम्बूस्थित गुर्जुधारामा रहेको भेहिकल एकेडेमी एण्ड रिसर्च सेन्टरका सञ्चालक माधव अधिकारीले चालक अनुमतिपत्रका लागि अनलाइन फारम भर्न सहज नभएका कारण सेवाग्राही समस्यामा परेका जानकारी दिए ।

उनले भने ‘बल्ल- बल्ल १० महीनामा प्रयोगात्मक परीक्षा खुला भयो । लाइसेन्स परीक्षाका लागि अनलाइन फारम भर्न प्राविधिक समस्या र झन्झटिलो भयो । यसलाई सहज बनाउन जरुरी छ । तत्काल यातायात व्यवस्था विभागले ध्यान दिनुपर्छ ।’ (रासस)

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *