वस्तु विनिमय बजार सञ्चालनको लागि परेका ५ आवेदनहरुको इन्कारी र नयाँ आवेदन दिन सूचना जारी
नेपाल धितोपत्र बोर्डले वस्तु विनिमय बजार सञ्चालन गर्न बोर्डमा पूर्व स्वीकृतिका लागि निवेदन पेश गरेका पाँच कम्पनीहरुको निवेदनलाई बोर्डले पूर्व स्वीकृति प्रदान गर्न इन्कार गर्ने निर्णय गरेको छ।
वस्तु बजार सम्बन्धी नियमावली, २०७४ को नियम (५) बमोजिम उक्त कम्पनीहरुले सम्पूर्ण कागजात तथा विवरणहरु पेश गरेको नदेखिएकाले वस्तु विनिमय बजार सञ्चालन गर्न पूर्व स्वीकृतिका लागि आएका पाँचै निवेदकहरुलाई बोर्डले पूर्व स्वीकृति प्रदान गर्न इन्कार गर्ने निर्णय गरेको जानकरी गराएकाे छ ।
दुईवटा कम्पनीलाई मात्रै अनुमति दिइने, पुरानाले पनि रितपूर्वक दरखास्त दिन पाउनेः
नेपाल धितोपत्र बोर्डले दुईवटा वस्तु विनिमय बजारलाई मात्रै सञ्चालनको स्वीकृति दिने निर्णय गरेको छ । मुलुकको अर्थतन्त्रको आकार, औद्योगिक व्यवसायको विकास, वस्तु कारोबारको सम्भाव्यता तथा लगानीकर्ताको हित संरक्षणलाई समेत दृष्टिगत गरी तत्काल दुईवटा मात्रै उपयुक्त हुने बोर्डको ठम्याइ छ ।
यसरी वस्तु विनिमय बजार संचालनका लागि पूर्व स्वीकृति प्रदान गर्दा प्रस्तावित कम्पनीको पूँजी र रणनीतिक साझेदार, प्रस्तावित प्रविधि, व्यवसायिक योजना, संस्थागत स्वामित्व संलग्नता र व्यवस्थापनको योग्यताको आधारमा उत्कृष्ट दुईवटा आवेदकलाई छनौट गरिनेछ । साथै उपर्युक्त बमोजिम इन्कार गरिएका आवेदकले समेत पूर्व स्वीकृतिका लागि पुनः आवेदन गर्न सकिने व्यवस्था रहेको छ ।

