सरकारले उचित संबोधन नगरे कपडा उद्योग बन्द हुने अवस्थामा

इन्भेष्टोपेपर ।  जेष्ठ १९, २०७७

आगामी आर्थिक वर्ष २०७७/७८ काे बजेटले कपडा उद्याेगले भाेगिरहेका समस्याहरू सम्बाेधन नगरि विगतमा पाउँदै आएकाे सुविधा समेत कटाैति गरिएकाले बन्द हुने अवस्थामा पुगेकाछन ।

याे बजेटले कोरोनाभाइरस र लकडाउनबाट प्रभाव पार्ने क्षेत्रमध्ये अग्रस्थानमा रहेको कपडा उद्योगमा भने कुनै पनि समस्याको सम्बोधन गर्न सकेको छैन । विगतमा घोषणा भएका सुविधा पाउन नसकेको तथा पाइरहेको सुविधासमेत खोसिएको छ । आगामी आवको बजेटबाट विद्युत महशुल छुटको सुविधासमेत खारेज गरिएको छ ।

छिमेकी मुलुक भारतमा ५ प्रतिशतमात्र कर (जीएसटी) रहेको कपडा उद्योगमा नेपालमा भने १३ प्रतिशत मूल्य अभिवृद्धि कर लागू गरिएको तथा भारतबाट निर्वाध रुपमा चोरीपैठारीका सामान आइपुग्ने अवस्थामा रहेकाले प्रतिस्पर्धी क्षमता पूर्णतः गुमाइसकेका उद्यमीहरूकाे भनाइ रहेकाे छ ।

नेपाल कपडा उद्योग संघद्वारा जारी प्रेस विज्ञप्तिः

मुलुक कोरोनाभाइरसको संकटमा रहेका बेला नेपाल सरकारले जेठ १५ मा आर्थिक वर्ष २०७७/७८ का लागि बजेट ल्याएको छ । अर्थतन्त्रलाई चलायमान बनाउन र आर्थिक पुनरुत्थानका लागि ल्याइएको भनिए पनि यो बजेटले कोरोनाभाइरस र लकडाउनबाट प्रभाव पार्ने क्षेत्रमध्ये अग्रस्थानमा रहेको कपडा उद्योगमा भने कुनै पनि समस्याको सम्बोधन गर्न सकेको छैन । विगतमा घोषणा भएका सुविधा पाउन नसकेको तथा पाइरहेको सुविधासमेत खोसिएको छ ।

कपडा उद्योगले यसअघि सरकारले नै घोषणा गरेको ब्याज अनुदान प्राप्त गर्न नसकिरहेको अवस्थामा आगामी आवको बजेटबाट विद्युत् महशुल छुटको सुविधासमेत खारेज गरिएको छ । सरकारको यस्तो व्यवस्थाबाट यस संघ आश्चर्यचकित र स्तब्ध भएको छ । यसलाई हामीले स्वदेशी कपडा उद्योगलाई निरुत्साहित गर्ने सरकारको नीतिका रुपमा बुझेका छौं । सरकार हाम्रा समस्याप्रति संवेदनशील नभएको देखिन्छ ।

आव २०७५/७६ को बजेट र आर्थिक ऐनमा ल्याइएका प्रावधानका कारण स्वदेशी कपडा उद्योगले त्यसयता ठूलो नोक्सानी बेहोर्दै आएका छन् । त्यसपछिका दिनमा हामीले दर्जनौंपटक सरकारी निकायमा यस क्षेत्रका समस्याबारे अवगत गराइसकेका छौं भने हामीले विकल्प पनि दिइरहेका छौं । २० औं वर्षदेखि नेपाली कपडा उद्योेगहरूलाई दिइँदै आएको मूअकर समायोजनको सुविधा फिर्ता लिइए पनि त्यसको क्षतिपूर्तिका लागि अन्य विकल्प नदिइँदा दुई वर्षदेखि नै व्यवसायमा ठूलो नोक्सानी छ । आगामी आवको बजेटका लागि पनि हामीले समयमै सरकारसमक्ष लिखित सुझाव पेश गरेको अवस्थामा हाम्रा कुनै पनि माग सम्बोधन नभएको र यसअघि पाइआएको सुविधा समेत कटौती भएकाले अब उद्योग व्यवसाय बन्द गर्नुको विकल्प छैन भन्ने निष्कर्षमा पुगेका छौं ।

बारम्बार सरकारको ढोका ढकढक्याउनु हाम्रो रहर नभइ बाध्यता थियो तर अहिलेसम्मका हाम्रा सबै प्रयासहरु व्यर्थ भएका छन् । राज्यले स्वदेशी कपडा उद्योग संरक्षणको आवश्यकता नै महशुस गर्न नसकेको अहिलेको अवस्थामा हामीले अब अर्को कठोर विकल्पका लागि तयार हुनैपर्छ । यसर्थ, सरकारले तुरुन्त कपडा उद्योगको समस्या समाधान गर्न उचित कदम उठावोस वा हामीलाई सहज तवरले उद्योग बन्द गर्ने बाटो खोलिदिन तथा यसको प्रक्रियामा सरलीकरण गर्न विनम्रतापूर्वक आग्रह गर्दछौं ।

छिमेकी भारतमा ५ प्रतिशतमात्र कर (जीएसटी) रहेको कपडा उद्योगमा नेपालमा भने १३ प्रतिशत मूल्य अभिवृद्धि कर लागू गरिएको तथा भारतबाट निर्वाध रुपमा चोरीपैठारीका सामान आइपुग्ने अवस्थामा हामीले प्रतिस्पर्धी क्षमता पूर्णतः गुमाइसकेका छौं । भारतबाट चोरी पैठारी एवं अन्य मुलुकबाट न्यून विजकीकरणबाट कपडा भित्रिरहँदा नियन्त्रण गर्न नसकी स्वदेशी उद्योगको घाँटी निमोठ्ने कार्यले लगानीको वातावरण बन्न सक्दैन भन्ने हाम्रो निष्कर्ष छ ।

छिमेकी मुलुकसँगको खुला सिमानाका कारण विभिन्न प्रकारले कपडाको चोरीपैठारी सहज रुपमा भइरहेको अवस्था छ । घरायसी किनमेलका लागि सर्वसाधारणले मात्र नभइ संगठित रुपमा सीमाबाट व्यवसायकै लागि चोरीपैठारी भइरहँदा पनि प्रशासनले रोक्न सकेको छैन । अर्कोतर्फ कपडा तथा कपडाजन्य वस्तुहरूको आयात व्यापारलाई वैधानिक बनाउन भन्सार महशुल यथार्थपरक मूल्यमा मूल्यांकन गरी भन्सार महशुल र मूअकर लाग्ने व्यवस्था गर्नसके राजस्व बढ्ने हाम्रो सुझावलाई सरकारले गम्भीरतापूर्वक मनन गर्न सकेको छैन । कपडाको कच्चा पदार्थको दरभन्दा पनि घटी मूल्यमा कपडा तथा कपडाजन्य तयारी वस्तुहरू आयात भइरहहँदा हामीले टुलुटुलु हेरिरहनुपर्ने अवस्था छ ।

मुलुकभित्र हाल सानाठूला गरी कुल २५० कपडा उद्योग चालू अवस्थामा रहेको तथा तिनमा प्रत्यक्ष रोजगारीको संख्या ५० हजार रहेको अवस्था छ । उद्योग बन्द हुँदा तिनमा आश्रित २ लाख ५० हजारको व्यवस्थापन अब राज्यले नै गरोस् भन्ने आग्रह गर्न चाहान्छौं । २०७१ पछिमात्रै नेपाली कपडा उद्योगमा डेढ अर्ब लगानी थपिएको छ । यससहित सबै लगानी जोखिममा परेको छ । लकडाउनका बेला अन्य उद्योग व्यवसाय सञ्चालनमा आउँदा पनि कपडा व्यवसाय भने पूर्ण रुपमा ठप्प रहेको अवस्थामा सरकारबाट राहत र नीतिग सहजीकरणको अपेक्षा गरिरहेका बेला आएको बजेटले हामीलाई निराश बनाएको छ । यसैले अब उद्योग बन्द गर्नुको विकल्प छैन भन्ने निष्कर्षमा हामी पुगेका छौं ।

सरकारले चालू वर्षमा साढे ७ लाख रोजगारी सिर्जना गर्ने लक्ष्य राखेकोमा नेपाली कपडा उद्योगले पनि पाँच वर्षभित्रै ५ लाख नयाँ रोजगारी सिर्जना गरेर सरकारी लक्ष्यमा सहयोग पु¥याउने योजना बनाइरहँदा कपडा उद्योग बन्द गर्नुपर्ने परिस्थिति सिर्जना हुने हुँदा हामीलाई निश्चय पनि दुःख लागेको छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *