दक्षिण कोरियाका १५ लाख श्रमिकले पाएनन् तलब

इन्भेष्टाेपेपर । असाैज २३, २०७७

साउल । नेपालीहरूका लागि रोजगारीका लागि आकर्षक गन्तव्य मानिने मुलुक दक्षिण कोरियामा १५ लाखभन्दा बढी मजदुरले आफूले काम गरेवापत पाउनुपर्ने तलब रोजगारदाताबाट पाउन नसकेको तथ्याङ्क सार्वजनिक भएको छ । यहाँको श्रम मन्त्रालयको तथ्याङ्कानुसार सन् २०१६ देखि २०१९ सम्म १५ लाखभन्दा धेरै कामदारले नपाएको कूल तलब रकम ७।१७ ट्रिलियन वोन पुगेको छ । सन् २०१६ मा मात्र तीन लाख २५ हजार ४३० जनाले नपाएको ज्याला १।४३ ट्रिलियन पुगेको थियो भने सन् २०१९ मा तीन लाख ४४ हजार ९७७ जनाले पाउनुपर्ने १।७२ ट्रिलियन वोन पुगेको छ । त्यसैगरी सन् २०२० को आठ महिनामा कामदारलाई नदिएको ज्याला ८९० बिलियन वोन छ ।

यसरी ज्याला नपाउने कामदारमा सबैभन्दा धेरै उत्पादनमूलक कम्पनीमा छन् भने दोस्रो स्थानमा निर्माण, खुद्रा व्यापार, होटल, रेस्टुराँमा छन् । सन् २०१९ मा मात्र पाँच जना वा सोभन्दा कम कामदार भएका कम्पनीमा बाँकी ज्याला ५४५।६ मिलियन वोन छ भने ५०० भन्दा धेरै कामदार भएका ठूला कम्पनीबाट तिर्न बाँकी रहेको ज्याला ६० बिलियन पुगेको छ ।

पछिल्लो समय कामदारको ज्याला रोकिनुमा विश्वव्यापीरूपमा फैलिएको कोरोना भाइरसका कारण विश्व अर्थतन्त्रमा आएको मन्दी मुख्य कारण रहेको तथ्याङ्कमा उल्लेख छ । यसरी कामदारले ज्याला नपाएका घटना धेरै बढिरहेको बताउँदै कानूनविद्हरूले आर्थिक सङ्कट झेलिरहेका कम्पनीलाई सरकारले आर्थिक सहयोग गरी कामदारले पाउनुपर्ने ज्याला नरोक्न सुझाव दिएका छन् । यहाँको रिपब्लिक जनशक्ति पार्टीका नेता किम सुङ–वानले कामदारको ज्याला समयमा भुक्तानी नगर्ने रोजगारदातालाई जरिवाना तिराउनुपर्ने सुझाव दिएका छन् ।

यो तथ्याङ्क बाहिरए पनि झण्डै ५० हजारभन्दा बढी नेपालीले रोजगारी गरिरहेको देश दक्षिण कोरियामा नेपालीहरू हालसम्म बेतलबी बस्नुपरेको त्यस्तो उल्लेख्य घटना देखिएको छैन । तथापि यसको प्रभाव पर्ने हो कि भन्ने चिन्ता यहाँ काम गरिरहेका नेपालीलाई छ । ( रासस )

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *