पक्राउ परेका १२२ जना चिनियाँको राहदानी रद्द गरिने

Investopaper, पौष २१, २०७६ 

काठमाडौं । चिनियाँ दूतावासले १ सय २२ चिनियाँको राहदानी रद्द गर्ने भएको छ। प्रवेशाज्ञा (भिसा) दुरुपयोग गरी शंकास्पद गतिविधिमा संलग्न रहेको आरोपमा उनीहरू काठमाडौंबाट पक्राउ परेका थिए। उनीहरूका राहदानी एकमुष्ठ रद्द गरी नयाँ ट्राभल डकुमेन्ट जारी गर्ने तयारी दूतावासले गरेको हो।

‘व्यक्ति छन्, राहदानी छैन। राहदानी छ, व्यक्ति फरार छन्’, एक प्रहरी अधिकारीले अन्नपूर्णसँग भने। प्रहरीका अनुसार ९६ जनाको राहदानी छैन। बाँकी २६ जनाको राहदानी प्रहरीसँग छ। राहदानी हराए दूतावासले नयाँ उपलब्ध गराउँदै आएको थियो।

राहदानीबेगर पक्राउ परेकालाई ट्राभल डकुमेन्टका आधारमा चीन फर्काउने तयारी छ। त्यसका लागि दूतावासले प्रहरीसँग समन्वय गरिरहेको छ। ट्राभल डकुमेन्टमा भिसा नियमित गरी पक्राउ परेका सबैलाई बुधबार चीन फर्काइनेछ।

बुधबार बिहान र बेलुका दुई सिफ्टमा चीनबाट दुईवटा जहाज काठमाडौं आउनेछन्। चीन सरकारले काठमाडौंमा पक्राउ परेका आफ्ना नागरिकलाई बुधबार (८ जनवरी) दुईवटा चार्टर विमानबाट फिर्ता लैजाने भएको हो।

त्यसका लागि चीनले चाइना साउदन र चाइना वेस्टर्न नामका दुई विमान नेपाल पठाउन लागेको छ। एउटामा ८० र अर्कोमा ४२ जना लगिने भएको छ। ती जहाज अवतरण गराउन दूतावासले नागरिक उड्डयन प्राधिकरणबाट अनुमति लिएको छ।

प्रहरीले हिरासतमा रहेका चिनियाँको कागजपत्र बुझाएपछि अध्यागमन विभागले निष्काशन प्रक्रिया थाल्नेछ। विभागका महानिर्देशक ईश्वरराज पौडेलले पक्राउ परेका शंकास्पद सबै चिनियाँलाई निष्काशन गरिने बताए।

‘उनीहरू सबैले व्यापारिक र पर्यटक भिसा दुरुपयोग गरेका छन्। सोहीबमोजिम कारबाही गरी निष्काशन गर्छौं’, महानिर्देशक पौडेलले भने, ‘पक्राउ परेकामध्ये एक जनासँग मात्रै व्यापारिक भिसा छ। बाँकी सबैको पर्यटक भिसा छ।

ईजी ३८९३५०३ नम्बरको चिनियाँ राहदानीवाहक हु चेङगुईले व्यापारिक भिसा लिएका हुन्। चेङगुईले ली चाओ नामको आईटी कम्पनी खोल्न व्यापारिक भिसा लिएको पाइएको छ। यो कम्पनीका नामबाट व्यापारिक भिसा लिएका अन्य चिनियाँ फरार छन्। याे समाचार आजको अन्नपूर्ण पोष्ट दैनिकमा प्रकाशित भएकाेछ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *