६३ वर्षका पादरीले गरे १२ वर्षकी बालिकासँग विवाह

न्भेष्टाेपेपर । पुस २७, २०८१

घानामा एक जना ६३ वर्षका प्रभावशाली पादरीले १२ वर्षकी बालिकासँग विवाह गरेपछि मानिसहरूले आक्रोश व्यक्त गरेका छन्। एक परम्परागत समारोहमा ती पादरी नुमो बोर्किटी लवेस तेत्तिसौँको विवाह भएको थियो।

घानामा विवाहका लागि कम्तीमा १८ वर्ष भएको हुनुपर्ने कानुनी व्यवस्था छ। गैर कानुनी भए पनि यो देशमा बालविवाह रोकिएको छैन।

विश्वभर बालविवाहविरुद्ध अभियान सञ्चालन गर्दै आएको गैर सरकारी संस्था ‘गर्ल्स नट ब्राइड्स’ का अनुसार यो अफ्रिकी देशमा १९ प्रतिशत केटीहरूको विवाह १८ वर्ष पुग्नु अगावै हुने गरेको छ। देशका पाँच प्रतिशत बालिकाहरूको विवाह १५ औँ वर्षको जन्मदिन मनाउनुअघि नै हुने गरेको उक्त संस्थाले जनाएको छ।

विवाहको भिडिओ सामाजिक सञ्जालमा व्यापक शेअर भएको र उक्त समुदायका दर्जनौँ मानिसहरू सहभागी भएको देखिन्छ र यसले घानावासीहरूमाझ आक्रोश पैदा गरेको छ।

विवाहमा स्थानीय गा भाषामा बोलिरहेकी महिलाले ती बालिकालाई आफ्ना श्रीमान्‌लाई जिस्काउने किसिमले पहिरन लगाउन भनिरहेको सुनिन्छ।

उनीहरूले ती बालिकालाई श्रीमतीको भूमिका निभाउन तैयार हुन र आफ्ना श्रीमान्‌प्रति यौन आकर्षण बढाउन उनीहरूले उपहार दिएका अत्तरको प्रयोग गर्न सल्लाह दिइरहेको सुनिन्छ।

धार्मिक अगुवाबाट बचाउ

ती बालिका र पादरीले प्रतिनिधित्व गर्ने नङ्ग्वा जनजाति समुदायका अगुवाहरूले विवाहबारे भइरहेका सार्वजनिक टिप्पणीको निन्दा गरेका छन्। उनीहरूले “कम बुझाइ भएका” क्षेत्रबाट यस्तो आलोचना आएको टिप्पणी गरेका छन्।

स्थानीय समुदायका अगुवा नि बोर्टी कोफी फ्रान्क्वा द्वितीयले आइतवार ती बालिकाले “परम्परा र प्रथा”को लागि मात्रै पादरीको श्रीमतीको भूमिका निभाउने बताए।

उनले ती बालिकाले छ वर्षअघिबाटै पादरीको श्रीमतीको रूपमा संस्कारहरू गर्दै आएको र त्यसले उनको शिक्षालाई प्रभावित नपारेको बताएका छन्।

ती बालिकाले उच्च तहका पादरीको श्रीमतीको रूपमा नयाँ भूमिकाका लागि आफूलाई शुद्धीकरण गर्ने दोस्रो परम्परागत समारोह पार गर्नुपर्ने ठानिएको छ। उक्त समारोहले उनलाई बच्चा हुर्काउने जस्तो वैवाहिक जिम्मेवारीका लागि तयार गर्ने स्थानीय सञ्चार माध्यमहरूले जनाएका छन्।

घानाको राजधानी अक्रका आदिवासी नङ्ग्वा समुदायमा सुरु उच्च तहका पादरी हुन्। धार्मिक अगुवाका रूपमा रहने पादरी समुदायका सबैभन्दा उच्च तहका नेता पनि मानिन्छन्।

यस्ता नेताले समुदायको तर्फबाट बली दिने, समुदायको सुरक्षाका लागि पूजा गर्ने, सांस्कृतिक अभ्यासहरू चलाउने र परम्परागत मुखियाहरूको छनौटका क्रममा संस्कारहरूको नेतृत्व गर्ने गर्छन्।

उक्त विवादास्पद विवाहबारे सरकारी अधिकारीहरूले अझैसम्म कुनै प्रतिक्रिया जनाएका छैनन्। घानाको कानुनले परम्परागत रूपमा प्रचलित विवाहलाई मान्यता दिए पनि परम्पराका नाममा बालविवाहलाई छुट दिएको छैन।

— एजेन्सीकाे सहयाेगमा

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *