कृषि विकास बैंक र सिभिल अस्पतालबीच सम्झौता
इन्भेष्टोपेपर । असार २३, २०७८
कृषि विकास बैंक लि. र निजामति अस्पताल परिसरमा बैंकको एक्सटेन्सन काउन्टर, एटिएम लगायतका सेवा संचालन गर्ने तथा अस्पतालको विलिङ्ग काउन्टर बैंकबाट संचालन गर्ने सम्वन्धमा यहि आषाढ २३ गते एक समारोहकाबीच सम्झौता भएको छ ।
आगामी दश बर्षका लागी भएको उक्त सम्झौता पत्रमा अस्पतालको तर्फबाट कार्यकारी निर्देशक प्रा.डा. विधाननिधि पौडेल र बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत अनिल कुमार उपाध्यायज्यूले हस्ताक्षर गर्नुभयो ।
उक्त सम्झौताले अस्पताल परिसरबाट अस्पतालमा आउने सेवाग्राही, अस्पतालका डाक्टर, कर्मचारी एवं सर्वसाधारण समेतलाई विविध बैंकिङ्ग सेवाहरु सहज रुपमा उपलब्ध हुनेछन । बैंकले आफ्नो सेवा विस्तारको क्रममा आगामी श्रावण महिना देखि पूर्ण बैंकिङ्ग सेवा संचालन गर्नुका साथै अस्पतालको विलिङ्ग काउन्टर बैकले संचालन गर्ने भएबाट अस्पतालको सो सेवा समेत अझै प्रभाकारी हुने विश्वास लिईएको छ ।
उक्त सम्झौता समारोहमा बैंकका उपमहाप्रबन्धकद्धय यज्ञप्रकाश न्यौपाने, दिर्घबहादुर अर्याल, विभागीय प्रमुख गिरिधारी पौडेल, बागमति प्रदेश प्रमुुख सुन्दर खतिवडा, बैंकका कम्पनी सचिव तथा प्रवक्ता हिमलाल पौडेल, कृषि विकास बैंक लि. नयां बानेश्वर शाखाको प्रबन्धक रमेश रावल, गठा्घरका प्रबन्धक खेटराज दाहाल लगायत अन्य कर्मचारीहरुको समेत उपस्थीति थियो ।
यसैगरि अस्पतालको तर्फबाट लेखा शाखाका प्रमुख चुडामणी गौतम, कर्मचारी यूनियनका प्रतिनिधी सन्तोष धिमाल, सचिव विनोद पोखरेल र अन्य कर्मचारीहरुको उपस्थीति थियो । कार्यक्रमको संचालन निजामति अस्पतालका उप–सचिव भोला चापागाईले गर्नु भएको थियो ।
सरकारी स्वामित्व भएको कृषि विकास बैंकका देशभरका ७७ जिल्लामा एक्सटेन्सन काउण्टर समेत गरी २८० वटा शाखा कार्यालयहरू मार्फत सम्पूर्ण ग्राहकहरूलाइ सेवा प्रदान गरिरहेकाे छ ।
