सशस्त्र प्रहरी बल र राष्ट्रिय वाणिज्य बैंकबीच सम्झौता
इन्भेष्टाेपेपर । वैशाख १५, २०७९
काठमाण्डाैँ । सशस्त्र प्रहरी बल नेपाल र राष्ट्रिय वाणिज्य बैंक लिमिटेड बीच सशस्त्र प्रहरी कर्मचारीहरुको हित तथा सुविधाका लागि तलबी बचत खाता संचालन तथा कर्जा कारोवार लगायतका बैंकिङ्ग सुविधा प्रदान गर्ने सम्वन्धमा सम्झौता भएको छ ।
सशस्त्र प्रहरी महानिरीक्षक पुष्पराम के.सी.को प्रमुख आतिथ्य तथा बैंकका प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठको उपस्थितीमा सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालय हल्चोक स्वयम्भूमा बैशाख १४ गते आयोजित एक समारोहका वीच सशस्त्र प्रहरी नायव महानिरीक्षक बिदुर खड्का र बैंकको तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत कविराज अधिकारीले सो सम्झौतामा हस्ताक्षर गर्नुभएको हो ।
यस सम्झौता सँगै सशस्त्र प्रहरी कर्मचारीहरुले विना धितो ५ वर्षका लागि अधिकतम रु. १५ लाख सम्मको ऋण सुविधा पाउनुका साथै बैंकले प्रदान गरिरहेको अन्य विविध सुविधाहरु समेत पहिलो वर्षको लागि निःशुल्क र त्यसपश्चात न्यून शुल्कमा उपभोग गर्न पाउने छन् भने सबै कर्मचारीकाे खाता वाणिज्य बैंकमा खाेल्नु पर्नेछ । कार्यक्रममा सशस्त्र प्रहरी बल, नेपालका बरिष्ठ अधिकृतहरु तथा सो बैंकका बरिष्ठ अधिकारीहरुको उपस्थिति रहेको थियो ।
राष्ट्रिय वाणिज्य बैंकका देशभर बैंककोे हाल २५८ वटा शाखा कार्यालय, २४५ वटा ए.टि.एम, ४१ स्थानमा एक्सटेन्सन काउण्टर, ९८ शाखारहित बैंकिंग सेवा सहित आधुनिक डिजिटल बैंकिङ्गको माध्यमबाट सेवा प्रवाह गर्दै आएको छ ।
