पर्यटकीय गन्तव्य बन्दै भोजपुरको अरुण डाँडा

न्भेष्टाेपेपर । मंसिर २०, २०८१

भोजपुर ।  जिल्लाको पौवादुङमा गाउँपालिका–१ मा रहेको अरुण डाँडा (छिन्तालुङ) आन्तरिक पर्यटकको रोजाइमा परेको छ । गाउँपालिकाले पूर्वाधार विकाससँगै आवश्यक संरचना निर्माण गरेपछि पर्यटकीय क्षेत्रका रूपमा स्थापित भएको हो । 

सदरमुकामबाट नजिकको पर्यटकीय गन्तव्य भएकाले घुमघामसँगै सहरी जीवनशैलीको थकान मेटाउन यो ठाउँलाई आन्तरिक पर्यटकले रोज्ने गरेका छन् । गाउँपालिका र कोशी प्रदेश सरकारसँगको साझेदारीमा बुद्ध, शिव र एलम्बरको प्रतिमासँगै आवश्यक संरचना निर्माण गरेपछि यहाँ आउने पर्यटकको सङ्ख्या बढ्दै गएको गाउँपालिका अध्यक्ष किरण राईले बताउनुभयो ।

अरुण डाँडालाई गाउँपालिकाको मुख्य पर्यटकीय क्षेत्रका रूपमा स्थापित गर्ने उद्देश्यले विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गरेर यहाँ पूर्वाधार विकासको काम भइरहेको बताउँदै पर्यटकीय गन्तव्य भएसँगै पालिकाको आर्थिक विकासमा महत्वपूर्ण भूमिका निर्वाह हुने उहाँले विश्वास व्यक्त गर्नुभयो ।

“अरुण डाँडा र यहाँ पुग्ने संरचनाको विकासका लागि आवश्यक काम भइरहेको छ”, अध्यक्ष राईले भन्नुभयो, “यहाँको बृहत्तर विकास गर्न करिब ८० रोपनी क्षेत्रमा विविध संरचना विस्तार गर्ने लक्ष्य छ । यो ठाउँलाई पर्यटनसँग जोडेर गाउँपालिकाको दिगो आर्थिक विकास र आम्दानीको स्रोतका रूपमा स्थापित गराउने लक्ष्यसहित काम भइरहेको छ ।”

यहाँ आइपुग्ने सडक विस्तारसँगै पैदल मार्ग तथा विश्राम स्थल निर्माण गरिएको पौवादुङमा–१ का वडाध्यक्ष राजेन्द्र तामाङले बताउनुभयो । यहाँबाट विभिन्न हिमशृङ्खलाका सुन्दर दृश्य, समथर फाँटको अवलोकनसँगै यहाँ रहेको मन्दिरमा पूजाआजा गर्न पर्यटकहरू आउने गरेका उहाँको भनाइ छ ।

“पर्यटकीय क्षेत्र अरुण डाँडाको धार्मिक पनि महत्व छ”, वडाध्यक्ष तामाङले भन्नुभयो, “यो स्थान घुम्न आउने मानिसका लागि प्राकृतिक सुन्दरका साथै मन्दिरमा भाकल गरी भाकल पूरा भएपछि पूजाआजा तथा दर्शन गर्न पनि आउने गरेका छन् ।” यहाँ आउने पर्यटकको यकिन तथ्याङ्क नभएपनि यसअघि दैनिक १०–१५ जना आउने गरेकामा पूर्वाधार विकास भएसँगै दैनिक २५–३० जना आउने गरेका उहाँले जानकारी दिनुभयो । 

यस क्षेत्रको विकास गरी स्थानीयको जीवनस्तर उकास्ने गरी योजनाबद्ध रूपमा पूर्वाधार विकासको काम भइरहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवीन भट्टराईले बताउनुभयो । यहाँको प्रचारप्रसार गरी पर्यटन प्रवर्द्धनमा जोड दिइएको उहाँले उल्लेख गर्नुभयो । पर्यटकलाई लक्षित गरेर यहाँ चियाखेतीको सम्भावनाको अध्ययन गरी विस्तारको कामसमेत भइरहेको प्रशासकीय अधिकृत भट्टराईले बताउनुभयो ।  

पर्यटक प्राकृतिको आनन्दसँगै स्थानीय परिकारको स्वाद लिन यहाँ आउने गरेका स्थानीय लालबहादुर तामाङले बताउनुभयो । सदरमुकामबाट नजिकको दूरीमा पर्ने अरुण डाँडा घुम्न आउने पर्यटकको सङ्ख्या बढेको उहाँको भनाइ छ । भोजपुर–लेगुवा मध्यपहाडी लोकमार्गबाट नजिक रहेकाले पनि पर्यटकको आवतजावतमा सहजता भएको उहाँले उल्लेख गर्नुभयो । 

“गाउँपालिकाले अरुण डाँडाको विकासमा भूमिका खेलेसँगै पर्यटकको सङ्ख्या बढेको छ”, स्थानीय तामाङले भन्नुभयो, “बिदाको समयमा आन्तरिक पर्यटक बढी आउँछन् । पछिल्लो समय यो स्थान धेरैको रोजाइमा पर्न थालेको छ ।”

समुद्री सतहबाट दुई हजार तीन सय मिटर उचाइमा रहेको अरुण डाँडालाई धार्मिक तथा पर्यटकीय क्षेत्रको रूपमा लिने गरिन्छ । (रासस)

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *