आमाले गाजर खाँदा गर्भमा रहेका बच्चा ‘मुस्कुराउँछन्’, ‘केल’ खाँदा ‘ठुस्किन्छन्’

न्भेष्टाेपेपर ।  मंसिर २६ २०७९

काठमाडौं ।  के तपाईँले केल नामक साग चाख्नुभएको छ? छ भने त्यो साग खाँदा अनुहार बिगार्ने तपाईँ एक्लो व्यक्ति हुनुहुन्न!

हालै मात्र वैज्ञानिकहरूले गर्भमा रहेको भ्रूण आमाले गाजर खाँदा प्रसन्न हुने र केलको साग खाँदा ठुस्स पर्ने कुरा पत्ता लगाएका छन्।

यूकेको डरम यूनिभर्सिटीस्थित द नियोनेटल रिसर्च ल्याबले भ्रूणले विभिन्न स्वादमा प्रतिक्रिया व्यक्त गरेको प्रत्यक्ष प्रमाण पहिलो पटक अभिलेखीकरण गरिएको जनाएको छ।

अनुसन्धानकर्ताहरूले इङ्ग्ल्यान्डमा १०० जना गर्भवती महिला र तिनको गर्भमा रहेका बच्चामा अध्ययन गरेका थिए।उनीहरूले ३५ जना गर्भवतीलाई गाजरको धुलोको चक्की र अरू ३४ जनालाई केलको धुलोको चक्की दिएका थिए।बाँकी ३० महिलालाई भने केही पनि नदिई अनुसन्धान गरिएको थियो।

फोरडी प्रविधिबाट प्रत्यक्ष प्रतिक्रिया अवलोकन

अनुसन्धानमा संलग्न टोलीले ‘साइकोलजिकल साइन्स’ जर्नलमा प्रकाशित विवरणअनुसार गर्भवती महिलाले ती चक्की खाएको २० मिनेटपछि पेटमा हुर्किँदै गरेका बच्चाहरूले प्रतिक्रिया व्यक्त गरेका थिए।

फोरडी अल्ट्रासाउन्ड स्क्यानिङमा केलको चक्की खाएका आमाको पेटमा रहेका बच्चाले मुख बिगारेका थिए भने गाजरको चक्की खाएका आमाका बच्चाहरू मुस्कुराएका थिए।

अध्ययनमा सहभागी बाँकी ३० महिलालाई यस्तो कुनै खानेकुरा दिइएको थिएन र उनीहरूको पेटमा रहेको भ्रूणको प्रतिक्रिया पनि केही पाइएन।

यसअघि गरिएका विभिन्न अध्ययनहरूले पनि हामीलाई कुन खानेकुरा मन पर्छ भन्ने कुरा जन्मअघि नै सुरु हुन सक्ने देखाएका छन्। आमाले सेवन गर्ने खानाका कारण गर्भमा भ्रूणवरिपरि हुने तरल पदार्थमा विभिन्न स्वाद हुने भएकाले त्यसो हुन सक्छ।

डरम यूनिभर्सिटीका अनुसार यो अध्ययनबाट गर्भमा रहेका बच्चाहरूले विभिन्न स्वादमा प्रत्यक्ष प्रतिक्रिया व्यक्त गरेको कुरा पहिलो पटक पत्ता लागेको हो।

आमाले केल साग खाएपछि गर्भमा रहेका बच्चाहरूले पहिलाे तस्बिरमा देखिए जसरी मुख बिगारेका थिए भने गाजर खाएपछि दाेश्राे तस्विरमा मुस्कुराएका थिए ।

भ्रूणले कहिलेबाट खानेकुराको स्वाद थाहा पाउँछ?

“आमाले खाने खानाबाट भ्रूणले कस्तो पोषण पाउँछ र बच्चाको स्वास्थ्य विकासका लागि यो निकै आवश्यक छ भन्ने कुरा हामीले यसअघिका अनुसन्धानहरूबाट थाहा पाएका थियौँ। तर त्यो कति समयपछि सुरु हुन्छ भन्ने हामीलाई थाहा थिएन,” अनुसन्धानमा सहभागी डरम यूनिभर्सिटीको द नियोनेटल रिसर्च ल्याबकी प्रमुख नादिया राइस्लान्डले भनिन्।

“गर्भस्थ शिशुहरूले १४ हप्तापछि गुलियोको स्वाद थाहा पाउँछन्,” उनले बीबीसीसँग भनिन्।

“हाम्रो प्रयोगका लागि हामीले गर्भमा रहेका शिशुहरूलाई ३२ र ३६ हप्तामा खानेकुरा धुलो बनाइएका चक्कीहरू दियौँ। उक्त समयमा उनीहरूको प्रतिक्रिया थप जटिल बन्दै जान्छ।”

“उनीहरू जन्मिएपछि पनि हामी अनुसन्धान जारी राख्छौँ र उनीहरू गर्भमा रहँदा जस्तै प्रतिक्रिया गाजर र केलको सागमा व्यक्त गर्छन् कि गर्दैनन् भन्ने अभिलेख राख्छौँ,” उनले भनिन्।

राइस्लान्डका अनुसार यसले स्वादको विकास धेरै अगाडि नै हुन्छ तथा यो हाम्रो ‘खाद्य वातावरण’को संस्कारको विकासमा भर पर्छ भन्ने सङ्केत गर्छ।

“भ्रूणले गर्भमा रहँदा आमाबाट पाएको खानेकुरामा जन्मपछि पनि बानी पर्छ र शिशुहरूले त्यो खानेकुरासँग परिचित हुन्छन् र त्यही खान्छन्।”

तीतो स्वादसँग विषको सम्बन्ध?

अनुसन्धानमा सहभागी राइस्लान्ड गर्भस्थ भ्रूणले तीतो स्वाद मन नपराउने बताउँछिन्।

“हामी पनि तीतो स्वादलाई खतरा ठान्छौँ र त्यसैअनुसार प्रतिक्रिया दिन्छौँ। तर तीतो स्वादका सबै खानेकुरा विष हुँदैनन् त्यसैले हामीले हामी आफैँलाई र बच्चाहरूलाई पनि यस्तो प्रतिक्रियाबाट मुक्त हुन सिकाउनुपर्छ। केही तीतो स्वादका खानेकुरा स्वास्थ्यकर र बच्चाको लागि पनि लाभदायक हुन्छन्।”

अल्ट्रासाउन्ड तस्बिरहरूमा तीतो स्वाद चाखेका बच्चाहरूको प्रतिक्रिया ठूला मानिसहरूको जस्तै देखिए पनि बच्चाहरूले नजन्मिँदै भावनाहरू तथा आफ्नो अरुचि व्यक्त गर्न सक्छन् भन्ने थाहा हुन सकेको छैन।

अल्ट्रासाउन्डमा उनीहरू मुस्कुराएको र ठुस्स परेको देखिए पनि त्यो उनीहरूको मांसपेशीले तीतो स्वादमा प्रतिक्रिया जनाएको मात्र हुनसक्ने राइस्लान्डको बुझाइ छ।

अरू वैज्ञानिक के भन्छन्?

अमेरिकास्थित नोर्थवेस्टर्न यूनिभर्सिटी फाइनबर्ग स्कूल अफ मेडिसिनमा नवजात शिशुसँग सम्बन्धित विषयको प्राध्यापन गर्ने डा. ड्यान्यल रोबिन्सनले एनबीसी समाचारसंस्थासँग कुरा गर्दै अल्ट्रासाउन्ड तस्बिरहरूलाई बच्चाले प्रसन्नता वा अरुचि व्यक्त गरेको अर्थमा बुझ्न नहुने बताएका छन्।

उनी यो अध्ययनमा सहभागी थिएनन्।

फिलाडेल्फियास्थित मोनेल केमिकल सेन्सेस सेन्टरकी जुली मेनेला यो विषयकी विज्ञ हुन्।

गार्डियनसँगको कुराकानीमा उनले यो अध्ययनले भ्रूण बस्ने ठाउँमा हुने तरल पदार्थको माध्यमबाट बच्चाहरूले आमाले खाने खानाबारे थाहा पाउँछन् भन्ने यसअघि पत्ता लागेको तथ्यलाई यो अनुसन्धानले थप पुष्टि गरेको बताएकी छन्। यद्यपि उनी यो अध्ययनमा सहभागी थिइनन्।

गार्डियनका अनुसार भर्जिनियास्थित कलेज अफ विलियम एन्ड मेरीकी प्राध्यापक क्याथरीन फोर्स्टेलले पनि यो अध्ययनले आमाले खाने कुरामा भ्रूणले दिने प्रतिक्रियाबारे भविष्यमा हुने अध्ययनहरूलाई पनि सहयोग पुग्ने बताएकी छन्।

अरुचि हुने खानेकुरा

अनुसन्धानको नेतृत्व गरेकी बेजा उस्तुनका अनुसार “धेरै वटा अनुसन्धानले गर्भभित्रै बच्चाहरूले खानेकुराको स्वाद र गन्ध थाहा पाउने” देखाएका छन्।

“तर ती अनुसन्धानहरू जन्मपछिको परिणाममा आधारित छन्। जबकि हाम्रो अनुसन्धान जन्मअघि नै उनीहरूको प्रतिक्रिया पत्ता लगाउने अहिलेसम्मकै पहिलो हो।”

“हाम्रो विचारमा जन्मअघि नै बारम्बार स्वाद चखाइरहँदा उनीहरू जन्मिएपछि पनि मन पराउने खानेकुरा थाहा पाउन सजिलो हुन्छ। यो स्वास्थ्यकर खानेकुराबारे सन्देश प्रवाह गर्न र अरुचि हुने खानेकुराबाट टाढै रहन पनि महत्त्वपूर्ण छ।”

यो अनुसन्धानले नयाँ आमाबुवालाई बच्चाहरूले किन कुनै खानेकुरा थोरै मात्र खाए भन्ने थाहा पाउन पनि व्यावहारिक रूपमा सहयोग पुर्‍याउने अनुसन्धानमा सहभागीहरूको दाबी छ। 

— बीबीसी न्यूजमा प्रकाशित आमेन ख्वाजाको रिपोर्ट

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *